धार्मिक पर्यटन समृद्धिको आधार : गृहमन्त्री थापा

राष्ट्रिय समाचार समिति

दमौली, १२ फागुन : गृहमन्त्री रामबहादुर थापाले समृद्धिको आधार धार्मिक पर्यटन रहेको बताउनुभएको छ । देवघाट क्षेत्र विकास समितिले आज तनहुँको देवघाट गाउँपालिकामा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले नेपाल समृद्धि र विकासको चरणमा प्रवेश गरिसकेको उल्लेख गर्नुुभयो ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने सरकारको लक्ष्यलाई पूरा गराउन नेपालका धार्मिक क्षेत्रहरुले पनि महत्वपूर्ण योगदान दिने गृहमन्त्री थापाको भनाइ थियो । “नेपालीलाई छिटोभन्दा छिटो सुखी र खुशी बनाउन चाहन्छौँ”, गृहमन्त्री थापाले भन्नुभयो, “वर्तमान सरकार सोही दिशामा अगाडि बढिरहेको छ ।”

नेपाल सभ्यताको केन्द्र रहेको चर्चा गर्दै गृहमन्त्री थापाले धार्मिक पर्यटन प्रवद्र्धनका लागि केन्द्र सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विश्वका अन्य मुलुकमा सभ्यताको भर्खरै शुरुआत भएको छ तर हामी सभ्यतामा निकै धनी छौँ”, गृहमन्त्री थापाले भन्नुभयो, “तर हामीले आफ्नो सभ्यता चिन्न नसकेको स्थिति छ ।”

देवघाट गाउँपालिकाले मदिराको अनियन्त्रित बिक्री वितरण रोक्न थालेको पहल सकारात्मक रहेको बताउँदै गृहमन्त्री थापाले मदिराको अनियन्त्रित सेवनले समाजमा हिंसा उत्पन्न गराउने बताउनुभयो । कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले देवघाटको विकासका लागि सङ्घीय सरकारको तर्फबाट पहल हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया