४०० ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ गायब‚ चालकको हातमा पुगेको आशंका

admin

काठमाडौं, फागुन १३ : नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ। साँचो हराएको पुष्टि १९ माघमा भएको हो। तर, अहिलेसम्म भेटिएको छैन। हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी)को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने १८१ ट्यांकरको ताला खुल्छ।

त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका २०० ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ। साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ। तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो। सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो।

त्यसको पाँच दिनपछि साँचो हराएको पत्ता लागेको समाचार नयाँ पत्रिका दैनिकमा छ। साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ। चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ। यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ।

‘ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ। त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने।

१ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए। हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए।

तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए।

प्रतिक्रिया