तत्कालीन पर्यटनमन्त्री ‘रवीन्द्र अधिकारी’को योगदानप्रति स्मरण

admin

काठमाडौं, १३ फागुन : यही फागुन १५ तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको देहावसान भएको एक वर्ष पुग्छ ।

यस सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले उनको योगदानलाई स्मरण गर्दै विविध कार्यक्रमका साथ वार्षिक स्मृति दिवस मनाउने भएको छ ।

प्रतिष्ठानले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर सो विषयका बारेमा जानकारी गराएको हो । स्मृति दिवसका अवसरमा फागुन १० गते कलाकारद्वारा क्यानभासमा रवीन्द्र अधिकारी कार्यक्रम सम्पन्न गरिसकेको छ ।

देशभरका स्नातक र स्नातकोत्तर तहका विद्यार्थी सहभागी हुने गरी ‘नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी’ शीर्षकमा निबन्ध प्रतियोगिता कार्यक्रमसमेत सम्पन्न भएको र विजेताको नामसहित पुरस्कार सोही दिन प्रदान गरिने छ ।

सो अवसरमा पोखराको शहीद तथा विभूति पार्कमा रवीन्द्र अधिकारीको पूर्णकदको सालिकको अनावरण गर्ने कार्यक्रमसमेत तय भएको छ ।

कार्यक्रममा प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तित्वले अधिकारीका बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

फागुन १६ गते ‘समाजमा रुपान्तरणमा रवीन्द्र अधिकारी’ विषयक कार्यशाला गोष्ठीसमेत आयोजना गरिनेछ ।

रवीन्द्र पत्नी एवं प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले प्रतिष्ठानले राजनीतिभन्दा माथि रहेर रवीन्द्रलाई सम्झन चाहने सबैको साझा संस्थाका रुपमा रहेको बताएकी छिन् ।

उनले भनिन्, “यो दुःखद् समयको एक वर्ष पुग्यो, शोकलाई शक्तिमा बदलेर हामी उहाँलाई स्मरण गर्दैछौँ”, प्रतिष्ठान रवीन्द्र अधिकारीले समाजमा पुर्‍याएको योगदानलाई चिरस्थायी बनाउने र उनले अवलम्बन गरेका विचार एवं सिद्धान्तलाई स्थापित गर्दै जीवन्त राख्न सक्रिय रहने बताईन्।

अधिकारीका सकारात्मक र अविस्मरणीय कार्यलाई चिरस्थायी बनाउन गत जेठ १८ गते गैरनाफामूलक संस्थाका रुपमा प्रतिष्ठानको गठन भएको हो ।

प्रतिक्रिया