कोरोना भाइरस चीनमा थप ५२ जनाको ज्यान गयो

राष्ट्रिय समाचार समिति

काठमाडौं, १४ फागुन : चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना भाइरसका कारण ज्यान गएको छ ।

तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा ज्यान जानेक्रममा केही कमी आएको छ । हालसम्म चीनमा कोरोनाकै कारण ज्यान जानेको संख्या २ हजार ७१५ जना पुगेको छ ।

पछिल्लो समय ज्यान गुमाएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि जनाएको छ ।

चीनमा हालका दिनहरूमा नयाँ सङ्क्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् ।

हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । 

हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई सङ्क्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ ।

दक्षिण कोरियामा ज्यान जानेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र सङ्क्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ ।

चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

करिब १० जनाको ज्यान गयो र ३०० भन्दा बढीमा सङ्क्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहन सक्ने बताएका छन् ।

नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।

प्रतिक्रिया