४२ बर्षदेखि लागुऔषध कारोबार, एक अर्बको सम्पत्ति

admin

काठमाडौं, १५ फागुन : काठमाडौं सीतापाइलाका देवेन्द्र छपाली मगर लागुऔषध बेचबिखन गरेको आरोपमा समातिए। अनुसन्धान गर्दा थाहा लाग्यो–उनी त एक अर्ब रुपैयाँभन्दा बढी सम्पत्तिका मालिक रहेछन्, सबै सम्पत्ति लागुऔषध बेचबिखन गरेरै जोडेका रहेछन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार मगरसँग चल र अचल गरी एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति छ। हजारौंको जीवन बर्बाद बनाउने अवैध धन्दाबाट जोडेको सो सम्पत्ति अब रोक्का गरिएको छ। विभागले अनुसन्धान टुङ्ग्याएर सो सम्बन्धी फाइल सरकारी वकिल कार्यालयमा पठाएको छ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार तीनपटक जेल बसेर छुटेको देवेन्द्रलाई लागुऔषध नियन्त्रण ब्युरोले एक सय ३६ किलो चरेससहित २०६९ वैशाख २३ गते पक्राउ गरेको थियो। त्यतिबेला उनीसँगै अन्य तीन जना पनि समातिएका थिए।

लागुऔषध कारोबारकै क्रममा २०३९ मा पहिलोपटक समातिएका देवेन्द्र खैरो हेरोइनसहित २०४२ सालमा दोस्रो पटक पक्राउ परेका थिए। उनी २०३४ सालदेखि नै लागुऔषध कारोबारको अन्तराष्ट्रिय गिरोहमा संलग्न भएको अनुसन्धानमा खुलेको छ। देवेन्द्रले सिरक व्यापारको आवरणमा चरेसको कारोबार शुरू गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो। उनी भारत हुँदै क्यानडासम्म चरेस पठाउने गर्थे।

प्रतिक्रिया