सबैका साझा र लोकप्रिय नेता अधिकारी : प्रधानमन्त्री ओली

राष्ट्रिय समाचार समिति

पोखरा, १५ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले रवीन्द्र अधिकारी सबैका साझ र लोकप्रिय नेता भएको बताउनुभएको छ । रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित रवीन्द्र अधिकारी स्मृति समारोह एवं विविध कार्यक्रममा भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले अधिकारी समाजसेवी, मृदुभाषी र सबैका लोकप्रिय नेता भएको बताउनुभयो ।

‘सुखी नेपाली र समृद्ध नेपाल’को लक्ष्य प्राप्तिमा अधिकारी क्रियाशील रहेकै सन्दर्भमा उहाँको निधन भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “उहाँको जीवनसँगै उहाँको निधन देशका जनताको विकास र चाहना पूरा गर्ने सिलसिलामा भयो ।” प्रधानमन्त्री ओलीले अधिकारी निष्ठावान, चरित्रवान एवं देश र जनताप्रति समर्पित एक सच्चा नेता भएको उल्लेख गर्नुभयो । सकारात्मक सोच र लगनशीलता अधिकारीमा रहेको बताउँदै उहाँले पार्टीलाई एकताबद्ध र नैतिकवान् बनाउन पनि उहाँबाट प्रेरणा लिएरअघि बढ्नुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले रवीन्द्रको निधनसँगै देशले असल जनप्रतिनिधि गुमाएको धारणा राख्नुभयो । समाज एवं देशको विकासका साथै पार्टी सङ्गठन निर्माणमा अधिकारीले खेलेको भूमिका महत्वपूर्ण भएको चर्चा गर्दै उहाँले सबैसँग मिलेरअघि बढ्नसक्ने उहाँका असाधारण क्षमता रहेको उल्लेख गर्नुभयो ।

संवैधानिक रुपमा नै राजदरबारका सदस्यको विरोधमा बोल्न नपाउने अवस्थामा पनि उहाँले प्रविण गुरुङको हत्याका विरुद्धमा जनमत सङ्कलन गर्नुभएको मन्त्री भट्टराईले स्मरण गर्नुभयो । अधिकारीको निधनले गण्डकी प्रदेशका साथै समग्र राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको बताउँदै उहाँले अधिकारीको क्रियाशिलता, निष्ठता तथा जनता प्रतिको उत्तरदायीपनका कारण नै यहाँका जनताले उहाँलाई पटक–पटक निर्वाचित गराएको स्मरण गर्नुभयो ।

विद्यार्थीलाई सार्वजनिक सवारीसाधनमा सहुलियतका साथै देशको सीमा सुरक्षाका लागि अगुवाइ गर्ने लगायतका धेरै काम अधिकारीले गर्नुभएको भट्टराईले उल्लेख गर्नुभयो । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको विशेष श्रेय अधिकारीमा नै जाने बताउँदै उहाँले सन् २०२१ मा विमानस्थल सञ्चालनमा आइसक्ने जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रका अधुरा सपनालाई पूरा गर्नु वर्तमानको आवश्यकता भएको बताउनुभयो । निर्माणाधीन पोखरा विमानस्थललाई समयमा नै सञ्चालनमा ल्याउनु रवीन्द्र प्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउँदै उहाँले नेपाल भ्रमण वर्ष २०२० पनि उहाँकै अवधारणा भएको स्मरण गर्नुभयो ।

सबैसँग न्यानो सम्बन्ध कायम गर्दै जनताको नेतृत्व गर्न सक्ने विशिष्ट गुण रवीन्द्रमा रहेको बताउँदै मुख्यमन्त्री गुरुङले पार्टीमा गुटभन्दा माथि रहेर पार्टी अनुशासनमा रहने रवीन्द्रबाट धेरै कुरा सिक्नुपर्ने आवश्यकता औँल्याउनुभयो । वर्तमान सरकारलाई जनताले पाँच वर्षका लागि म्यान्डेट दिएको चर्चा गर्दै उहाँले जनमतका विरुद्धमा जाने अधिकार कोही कसैलाई नभएको उल्लेख गर्नुभयो ।

उक्त अवसरमा प्रतिष्ठानद्वारा आयोजित ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ विषयक राष्ट्रिय निबन्ध प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थी क्रमशः सुरज परियार ललितपुर, मनिता योङहाङ, विराटनगर र रामचन्द्र अधिकारी ओखलढुङ्गालाई नगद २५, २० र १५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै क्यानभासमा रवीन्द्र अधिकारी कला कार्यशालाका संयोजक रमेश श्रेष्ठ लगायतका कलाकारलाई प्रमाणपत्र प्रदान गरियो ।

प्रतिक्रिया