हाइब्रिड मकैमा भाइरसको सङ्क्रमण

राष्ट्रिय समाचार समिति

सर्लाही, १५ फागुन: सर्लाहीका किसानले लगाएको हाइब्रिड जातको मकैमा ‘¥याडो फिनो मेडस्ट्रीक भाइरस’को व्यापक सङ्क्रमण देखिएको छ । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, जिरायत, रानीगञ्जलगायतका स्थानका किसानले लगाएको हाइब्रिड जातको मकैमा उक्त भाइरसको व्यापक सङ्क्रमण देखिएको हो ।

भरखरै धानचमरा आउन लागेको मकैमा पात सुक्ने, मकैको पात रातो हुने, गुंभो सुक्ने तथा काटिने, पात खुइलिने र प्वाल पर्ने गरेको किसानले गुनासो गरेका छन् । उखुखेती लगाउँदा उखुको भुक्तानी नपाएको पीडामा परेका किसान खेती परिवर्तन गरी मकैखेतीमा लागेका भए पनि मकैमा समेत सङ्क्रमण देखिन थालेपछि थप पीडित बनेका छन् । मकैको पातसमेत रातो हुने, सुक्ने तथा गुंभो सुक्ने र काटिने समस्या देखिएको किसानले बताएका छन् ।

यस क्षेत्रमा लगाइएको अधिकांश मकैमा यो समस्या देखिएको स्थानीय किसान राजु महत्तोले बताउनुभयो । धानचमरा लाग्ने समयमा मकैको बोट नै सुक्न थाल्नुका साथै मकैको बोटपात सुकेपछि जसरी नी किसान मर्ने नै रहेछ भन्ने अनुभव हुन थालेको अर्का किसान ठाकुर पौड्यालले बताउनुभयो । किराका कारण वा अन्य कारण आफूहरुलाई थाहा नभएको तर मकैमा उक्त भाइरसको व्यापक सङ्क्रमण देखिएपछि आफूहरु पीडित भएको किसानको गुनासो छ ।

मकैमा ¥याडो फिनो र मेडस्ट्रीक भाइरसको सङ्क्रमण देखिएपछि पात सुक्ने र मकैले खाना बनाउन नसक्ने भएका कारण मकै मर्ने गरेको उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुरका बाली संरक्षण अधिकृत राजेन्द्र यादवले बताउनुभयो । उक्त भाइरसको सङ्क्रमण देखिएपछि अन्नबालीमा ५० देखि १०० प्रतिशत उत्पादन घट्ने यादवको भनाइ छ । यो सङ्क्रमण आफैँ नभई भुसुना जस्तै लाइ किरा र लिफ होपर किराले एक स्थानबाट अर्काे स्थानमा सार्ने गरेको यादवको भनाइ छ ।

जिल्लामा हरेक वर्ष करिब १२ हजार हेक्टर क्षेत्रफलमा ५.३ लाख टन मकै उत्पादन हुने गरेको थियो । तर, पछिल्लो समयमा अन्नबालीमा विभिन्न किसिमका सङ्क्रमण देखिएपछि उत्पादन घट्ने क्रम जारी रहेको छ । साथै मकैमा घोगा नलागी धानचमरामा दाना लाग्ने गरेको परवानीपुरका अर्का किसान विक्रम थापाले बताउनुभयो ।

प्रतिक्रिया