बाँस्कोटाको अडियो माथि अझै पनि छानबिन नहुनु गम्भिर नियत छ : सभापति देउवा

admin

काठमाडौं, १८ फागुन : पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको हप्तादिन वित्दा पनि प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले छानबिन सुरु नहुनु गम्भीर विषय भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर बोल्दै देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा बाँस्कोटा राजीनामा दिएको हप्ता दिनभन्दा बढी समय भएपनि छानबिन सुरु नहुनुका पछाडी गम्भीर नियत लुकेको बताएका हुन् ।

देउवाले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो ? भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताएका छन् । ‘हप्ता पुग्दा पनि छानबिन नहुनुको पछाडि गम्भिर नियत छ । अडियो प्रष्ट सुनिन्छ । हामी भनेका कसलाई भनेका हुन् ? हामी भित्र को-को पर्छन् ? प्रधानमन्त्रीले प्रष्ट पार्नुहोस्’, देउवाको माग छ ।

छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भनेर प्रश्न समेत गरे । ‘छानबिन गर्ने निकायले छानबिन गर्नुभन्दा पहिले नै प्रधानमन्त्रीले अडियो नक्कली भन्नुभयो । त्यसले छानबिन प्रभावित हुन्छ की हुँदैन् । छानबिन हुनुभन्दा पहिले तपाईले निर्णय दिनुभयो भने तर्पाइको बोलीको विश्वसनियता कमजोर भएन् ?’ देउवाको प्रश्न छ ।

सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र लिएको आरोप समेत लगाएका छन् । ‘नेपाल ट्रष्टको स्वेतपत्रले सेक्युरिटी प्रेस प्रकरणबाट मुलुकको ध्यान मोड्ने प्रयत्न भएको छ । गोकर्ण रिसोर्टको ध्यान मोड्ने प्रयत्न भएको छ । टेलिकमको प्रकरणमा अर्बो भ्रष्टाचार भएको कुरा आएको छ । एनसेलले ४ अर्बमा सकेको काम एनटिसीर्लाइ १२ अर्ब कसरी लाग्यो ?’ देउवाको प्रश्न छ ।

उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफु प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टिकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए ।

उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे । सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गरे ।

प्रतिक्रिया