कोरोना सङ्क्रमणबाट जोगिन नमस्ते अभियान

admin

काठमाडौं, १९ फागुन : गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो वार्षिक नीति तथा कार्यक्रममा पर्यटन लक्षित नमस्ते अभियान घोषणा गरेसँगै अहिले भने पर्यटन लक्षित नभई कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट जोगिने सन्दर्भमा यहाँका मुख्य बजार र चोकचोकमा नमस्ते शब्दको चर्चा र यसको कार्यान्वयन हुने गरेको छ ।

विगतमा भेट्दा हात मिलाउने साथीभाइले पनि एकापसमा अहिले दुई हात जोडेर नमस्ते गर्ने गरेका छन् । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा सामाजिक सञ्जाल र विभिन्न चिकित्सकले अन्तर्वार्तामा सङ्क्रमणबाट जोगिनका लागि कोही कसैसँग हात नमिलाएर नमस्ते गर्न दिएको सुझाव यतिखेर जनस्तरबाट कार्यान्वयन गर्न थालिएको हो ।

सामाजिक सङ्घसंस्थाले पनि यतिखेर सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा अधिकांश सदस्यले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बढ्दै गरेको अवस्थामा सरकारले यसतर्फ चासो दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए । कोरोना भाइरसको हल्लासँगै पोखराको पर्यटनमा नकारात्मक प्रभाव पारेको छ ।

सचेतनालाई नै लक्ष्य गरी पोखरा पर्यटन परिषद्को आयोजनामा सोमबार साँझ लेकसाइडमा सचेतनामूलक सद्भावना र्‍याली आयोजना गरिएको छ । व्यक्ति÷व्यक्ति होस् वा समूहमा अहिले एकापसमा हात मिलाएर हैन नमस्ते गरौँ भन्ने भावना पनि जागृत हुँदै गएको छ ।

पोखराका सामान्य चिया पसल एवम् चोकदेखि प्रदेशका मन्त्रालय, प्रदेशसभा आदि स्थानमा यतिखेर एकापसमा नमस्ते गर्दै अभिवादन गरेको देख्न सकिन्छ । कोरोना भाइरसको सङ्क्रमणको हल्ला शुरु भएयता पोखराको समग्र पर्यटन व्यवसाय धरापमा परेका छन् । पोखरामा होटेल व्यवसायमा खर्बौंको लगानी हुने स्थान कोरोनाका कारण यतिखेर व्यवसायी ठूलो मारमा परेका छन् ।

घुम्न आउने जो कोही सबैभन्दा पहिले पर्यटन व्यवसायीसँग मिलाउँदा सङ्क्रमणबाट जोगिनका लागि सकेसम्म सचेत बन्नाको विकल्प नभएका कारण सम्भाव्य सङ्क्रमणबाट जोगिनकै लागि पछिल्ला दिन पोखरामा हात मिलाउने भन्दा पनि नमस्ते गर्ने प्रचलन बढिरहेको छ ।

बेलैमा सावधानी अपनाउन सके यसको सङ्क्रमणबाट जोगिन सकिने पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा अर्जुन आचार्य बताउँछन् । स्वास्थ्य संस्थाहरूले सम्भाव्य जोखिमलाई लक्ष्य गरी त्यसको तयारी गरेको बताउँदै उनले सर्वसाधारण पनि सचेत बन्नुपर्ने औँल्याए। चिकित्सकले सङ्क्रमणबाट बच्नका लागि घरबाट बाहिर सार्वजनिक यातायात एवम् भीडभाड एवम् कार्यस्थलमा जाँदा पञ्जा, मास्क आदिको प्रयोग गर्न सुझाव दिएका छन् ।

त्यस्तै, नियमित स्वस्थ, स्वच्छ शरीरका साथै घरायसी प्रयोगका सामानको नियमित सरसफाइ गर्न उनीहरूको सुझाव छ । साथीभाइ भेटघाटमा हात मिलाउने, अङ्कमाल गर्ने जस्ता कुरालाई त्याग्दै नमस्कार गरेर अभिवादन गर्नुपर्नेमा उनीहरूको जोड रहेको छ ।

प्रतिक्रिया