कोरोना भाइरस : ज्यान जानेको संख्या तीन हजार नाघ्यो

राष्ट्रिय समाचार समिति

काठमाडौं, १९ फागुन : चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि ज्यान जाने मानिसको संख्या ३ हजार नाघेको सोमबार जनाइएको छ ।

चीनमा मात्र यस भाइरसका कारण २ हजार ९१२ को ज्यान गएको त्यहाँको राष्ट्रिय स्वास्थ्य विभागले जानकारी दिएको छ । हाल चीनमा यस रोगबाट ज्यान गुमाउने सबै व्यक्ति हुबेई प्रान्तका रहेका पनि समाचारमा जनाइएको छ ।

यस भाइरसका कारण ज्यान जाने मध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुबेइ प्रान्तका रहेका छन् । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।

चीनबाहेक विश्वका अन्य १० देशका मानिसहरूको कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गएको छ । इरानमा हालसम्म ५४ जनाको ज्यान गएको पुष्टि भएको छ । इटलीमा पनि ३० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ८९ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । इटलीमा ४८ घण्टामा सङ्क्रमित मानिसको दर दोबर भएको त्यहाँको स्वास्थ्यसम्बन्धी निकायले जनाएको छ । त्यहाँ कम्तीमा ३४ जनाको ज्यान गएको तथा करिब १७ सय जनामा सङक्रमण भएको पुष्टि भएको छ ।

बेलायतमा ३६ जनामा सङ्क्रमण भएको पुष्टि भएपछि प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आपतकालीन बैठक बोलाएका छन् । चीनपछि सर्वाधिक सङ्क्रमण देखिएको दक्षिण कोरियामा थप ५०० जना सङ्क्रमित भेटिएका छन् । त्यहाँ ४ हजार २१२ मा सङ्क्रमण भएको सरकारी तथ्याङ्क रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया