काठमाडौं, १९ फागुन : चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका एक सय ७५ जना सोमबार घर फर्कने भएका छन् ।
बेलुकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालसहितको सरकारी टोलीले उनीहरुलाई बिदाइ गर्ने कार्यक्रम रहेको छ । बिदाइ कार्यक्रममा क्वारेन्टाइनमा रहेका कतिपयका आफन्त र परिवार पनि आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
फागुन ४ गते क्वारेन्टाइन छिरेपछि सरकारले गरेको व्यवस्था देख्दा निकै खुशी लागेको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु बताउँछन् । १६ दिनको बसाइमा बिहान बाहिर निस्किएर शारीरिक व्यायाम गर्ने, खेलकुद कार्यक्रममा सहभागी हुने, नाचगान गर्ने गर्दैमा बितेको क्वारेनटाइनमा बसेकाहरु बताउँछन् ।
क्वारेनटाइनमा रहेका सबै स्वस्थ रहेका र कोरोना संक्रमित कोही नभएको पुष्टि हुँदा खुशी लागेको क्वारेन्टाइनमा सुरक्षाको जिम्मेवारी सम्हालेका नेपाली सेनाको वीर दल गणका गणपति कर्णेल शिव पौडेलले बताए ।
‘कोरोनाको मुहानबाट बचाएर ल्याएकोमा खुशी भयौँ । तर यहाँका स्थानीयमा फैलिएको त्राससँगै उनीहरुले गरेको विरोधले मन दुख्यो’, एक जना विद्यार्थीले भने । सम्बन्धित निकायले समयमा नै चेतना नफैलाएको कारण स्थानीय त्रसित भएको उनीहरुको बुझाइ छ ।
१४औँ दिनमा नाक, घाँटी स्वाबको परीक्षणमा कोरोना सङ्क्रमित भएको नपाइएपछि उनीहरुलाई घर फर्काउन लागिएको हो । खाने, बस्ने वातावरणसँगै आवश्यक सम्पूर्ण व्यवस्था भएको भन्दै क्वारेण्टाइनबाट चिन्तामुक्त भएर बस्न पाएको उनीहरुले बताए । क्वारेण्टाइन वरिपरिका बासिन्दामा त्रास फैलिएको र घर गाउँ नै छाडेर गएको भन्ने सुन्दा निकै दुःख लागेको उनीहरुले बताए ।
क्वारेण्टाइनमा बसेकामध्ये ४० जना चीनमा डाक्टर पढेर फर्किएका थिए । क्वारेण्टाइनमा रहेकाहरुले नेपाल सरकारले कोरोनालाई सामान्य रुपमा लिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।