यी ६ देशबाट हुने उडानहरु रोक्न सर्वोच्चको आदेश

admin

काठमाडौं, १९ फागुन : सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

 

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो ।

सर्वोच्चले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने यात्रुको स्वास्थ्य जाँचका लागि पनि पर्याप्त व्यवस्था गर्न पनि भनेको छ ।

‘कोरोना भाइरसक (कोभिड-१९) को गम्भीर संक्रमण फैलिएका देशहरु (चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि)बाट सोझै र ट्रान्जिट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने अन्तर्राष्ट्रिय उडानका अवस्था र परिस्थितिको गंभिरताको शुक्ष्म मूल्याङ्कन गरी आम जनताको स्वास्थ्य सम्बन्धी राष्ट्रिय हितलाई ध्यानमा राखी केही दिन र महिनाको लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने‘’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले उच्च संक्रमण फैलिएका देशबाट आउने यात्रुलाई स्वास्थ्य परीक्षण बिना प्रवेशमा रोक लगाउने तथा शंकास्पद स्वदेशी तथा विदेशी नागरिकलाई तत्कार्ल आइसोलेशन वार्ड र क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पनि सरकारका नाममा आदेश जारी गरेको छ ।

प्रतिक्रिया