बजारमा मास्क र सेनिटाइजरको हाहाकार

admin

काठमाडौं, २१ फागुन : चीनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड १९)को असर विश्वव्यापी बनिरहँदा नेपालमा पनि यसको त्रास फैलिएको छ ।

नेपालमा दुई दर्जन बढीमा यो भाइरसको आशंका भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गर्दा एक हालसम्म जनामा मात्रै पोजटिभ देखिएको छ । ती एक जना बिरामी पनि पूर्णरुपमा स्वस्थ भएर घर फर्किसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारिसकेको छ ।

कोरोना भाइरसको त्रासकै कारण अहिले सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय समूदायका साथै राजनीतिक पार्टी र संघसंस्थासमेतले सार्वजनिक कार्यक्रमहरु रद्द गर्न थालिएका छन् । विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएपछि थप त्रास फैलिएको छ ।

यो रोगको संक्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन सरकार र सरोकारवालाले पटक पटक आह्वान गर्दै आएका छन् । सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको अवस्थामा प्रदेशमा उच्च सतर्कता अपनाउन थालिएको बताए ।

उनका अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत मेला तथा महोत्सव नगर्न र पहिले दिएको स्वीकृति पनि रद्द गर्ने निर्णय भएको छ । केन्द्र सरकारले कोरोनाबाट बच्नको लागि प्रयासहरु थालनी गरेको बताउँदै त्यही अनुसार प्रदेश सरकारले पनि संयमता अपनाउन लागेको उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले कोरोना नेपालमै उत्पादित रोग नभएको प्रष्ट पार्दै बाहिरबाट आउने यात्रीहरुलाई निगरानी गर्दा यो नेपाल भित्रिन नसक्ने दावी गरेका छन् । उनले कोरोनालाई नेपाल आउन नदिनु नै सरकारको प्रमुख लक्ष्य भएको भन्दै सोहीअनुसार काम गरिररहेको बताएका छन् ।

उनले बाहिर देशबाट आएकाहरुले स्वास्थ्य परीक्षणको फलोअप गर्नुपर्ने र सबै नेपालीहरुले मास्कको प्रयोग गर्नुपर्ने, ह्याण्ड सानिटाइजेशनको प्रयोग गर्न सुझाव दिए । मास्कको अभाव भएको भन्ने कुरा पनि आएको उल्लेख गर्दै सरकारले यसतर्फपनि आवश्यक गम्भीरताका साथ कदम चालेको उनले स्पष्ट पारे ।

उनले भने,‘मास्क अभाव हुनुमा हामीसँग उत्पादन क्षमता कम छ, अर्को कुरा मटरियल पनि बाहिरबाट ल्याउनुपर्ने भएकोले अहिले समस्या देखिएको हो ।’ भर्खरै आफूहरुले २५ हजार मास्क ल्याएको सुनाउँदै छिट्टै अरुपनि बन्दोबस्त गर्ने उनले योजना सुनाउँदै यदि मास्कमा कालोबजारी गरेको थाहा पाइए सरकारले हदैसम्मको कारबाही गर्नेपनि उनले चेतावनी दिए ।

प्रतिक्रिया