कोरोना भाईरसको संक्रमणको त्रा स, चाँडो विद्यालय बन्द गर्न कलाकार सिम्खडाको सरकारलाई सुझाव

admin

काठमाडौं, २१ फागुन । चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले सरकारले चैत्र ५ गते नकुरी त्योभन्दा अगावै विद्यालयहरु बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाईरस (कोभिड–१९) को विश्वभरि संक्रमण फैलिएको र यसले ठूलो संख्यामा मानवीय क्षति पुर्याएको उल्लेख गर्दै नेपालले पनि बेलैमा सचेतना अपनाउनुपर्ने सिम्खडाको भनाई छ ।

Photo: Reporters Club

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिम्खडाले कोरोनाको संक्रमण हुन नदिनको लागि भिडभाडमा जान नहुने तर्क गर्दै विद्यालय भनेको भीड हुने ठाउँ भएकोले जतिसक्दो चाँडो विद्यालय बन्द गरिनुपर्ने तर्क गरे । उनले भने,‘विद्यालय बन्द हुँदा शहरको जनघनत्वपनि अत्यन्तै कम हुने । र, कोरोनाको संक्रमण हुने जोखिमपनि न्यून हुने सम्भावना म देख्दछु ।’ उनले शहरमा आफ्ना बालबच्चाहरुको शिक्षाको लागि डेरामा बस्ने अभिभावकहरु पनि विद्यालय बन्द भएपछि आफ्नो जन्मस्थान् जान बाध्य हुने सुनाउँदै यो नै सवैभन्दा राम्रो विकल्प हुने तर्क गरे ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको थियो । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण र संत्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउन उपयुक्त हुने भन्दै मन्त्रालयले हिजोमात्रै एक विज्ञप्ति प्रकाशित गरेर यस्तो सुचना प्रवाह गरेको थियो । त्यसैगरी, विज्ञप्तिमा ‘विद्यालयमा सभा, समारोह, वार्षिक उत्सवलगायतका जनभेला हुने प्रकृतिका कार्यक्रमहरु आयोजना नगर्न, नगराउन पनि मन्त्रालयले सबैमा आह्वान गर्दछ’ उल्लेख गरेको छ ।

मन्त्रालयको यस्तो विज्ञप्ती आएको भोलिपल्ट अर्थात आज (बुधबार) पत्रकार सम्मेलन गरेर समाजसेवी सिम्खडाले त्यो भन्दा अघि नै विद्यालय बन्द गर्न सरकारलाई सुझाव दिएका छन् । उनले जति ढिलाई गरे त्यति नै बढि संक्रमणको जोखिम हुने खतरापनि औंल्याए ।

प्रतिक्रिया