सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको ८२ हजार पाँच सय पुग्यो

admin

काठमाडौं, २३ फागुन : शुक्रबार सुनको मूल्य तोलामा १८ सय रुपैयाँ बढेर तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्तामात्रै सुनको मूल्य तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार घटबढ भएन ।

मंगलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो ।

बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेको हो । चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो भएको महासङ्घ अन्तर्गतको मूल्य निर्धारण समितिले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको विनिमय दर भारतीय रुपैयाँमा भर पर्ने भएकाले असर गरेको हो ।

प्रतिक्रिया