मास्क पाइएन भनेर नआत्तिनुस्, यसरी पनि बच्न सकिन्छ कोरोना सङ्क्रमणबाट !

admin

काठमाडौं, २३ फागुन : सरकारले रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन आग्रह गरेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले रुघाखोकी लागेका व्यक्तिले मास्क लगाउँदा अरु व्यक्तिमा सर्ने जोखिम कम हुने बताएका छन् ।

मास्क नलगाए पनि फरक नपर्ने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका छन् । सङ्क्रमित व्यक्तिले मास्क नलाएर, मास्क लगाएको स्वस्थ व्यक्तिको नजिकै गएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा परे सङ्क्रमण सर्ने जोखिम हुन्छ ।

रुघाखोकी लागेका व्यक्तिले अनिवार्य मास्क लगाउनुपर्ने तर स्वस्थ व्यक्तिले नलगाए पनि हुने डा. बाँस्तोलाले बताए । निरन्तर बिरामीको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले पनि नियमित मास्क लगाउनुपर्छ ।

यसो गर्दा सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहे पनि सर्ने जोखिम कम हुन्छ । स्वस्थ व्यक्तिले मास्क लगाउनेभन्दा पनि वरपर छोइसकेपछि साबुन पानीले हात धुने गर्दा पनि जोगिन सकिने डाक्टर बाँस्तोलाको भनाइ छ ।

सङ्क्रमित व्यक्तिले मास्क लगाएर बोल्दा, हाच्छँयु गर्दा वा खोक्दा मुखबाट निस्कने थुक र र्‍यालको छिटा स्वस्थ व्यक्तिमा पर्दैन । यसले स्वस्थ व्यक्तिलाई सङ्क्रमित हुनबाट जोगाउँछ ।

विश्वका ८९ देशमा कोभिड-नाइन्टिन अर्थात् कोरोना भारइस फैलिएसँगै स्वस्थ व्यक्तिले पनि मास्कको खोजी गर्ने र जगेडा राख्ने गर्दा अभाव भएको छ ।

प्रतिक्रिया