भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको छ : डा कोइराला

राष्ट्रिय समाचार समिति

लहान, २५ फागुन: नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भन्नुभयो, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु ।”

गलत प्रवृत्तिबाट काँग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिनुहुँदै नेता डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेसभित्र कोइराला परिवार पनि भावी नेतृत्वका लागि तयार छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता डा कोइरालाले भन्नुभयो, “कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।”

डा शशाङ्क, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छाैं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ ।” सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको उल्लेख गर्दै उहाँले संसद्मा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयकमा लोकतन्त्र र संविधानको भावना विपरीतका कुरा राखिएको भन्दै विरोध जनाउनुभयो ।

सोही पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताउनुभयो ।

प्रतिक्रिया