देशभर आंशिक बदली, मेघगर्जन र चट्याङसहित वर्षा

admin

काठमाडौं, २९ फागुन : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिक बदली रही पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले साँझापख पश्चिमी भूभागका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जुवासीले बताईन् । उक्त प्रणालीको प्रभाव बिहीबार पश्चिमी भूभागमा मात्र रहने बताइएको छ ।

“पश्चिमी वायु भोलिबाट पूर्वी र मध्य पहाडी भूभागमा समेत सक्रिय हुनेछ”, उनले भनिन् । हाल देशका केही पश्चिमी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

राति देशका पश्चिमी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागकालगायत मध्यका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना, र हावाहुरीसहित वर्षाको सम्भावना औँल्याइएको छ ।

शनिबार देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी र पूर्वी भूभागका एक÷दुई स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै, बिहीबार सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम २९ दशमलव एक डिग्री र सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू