काठमाडौं, २९ फागुन : विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बुङ्मतीसम्मको सडकका विभिन्न खण्डमा काम अघि बढेको छ ।
भैँसेपाटीको उकालोलगायतका स्थानमा निर्माण अघि नबढे पनि धेरै स्थानमा निर्माण भइरहेको छ । तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण अहिलेसम्म आधा सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
सो सडक विस्तार दुई ठेक्कामार्फत निर्माण अघि बढाइएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कन गरेपछि मात्रै जिल्ला प्रशासन कार्यालयले निर्माणस्थल खाली गर्छ । निर्माणस्थल खाली हुन समय लाग्दा निर्माण शुरु हुनै लामो समय लागेको थियो ।
प्राधिकरणले चिह्न लगाएर सडक खाली गराएपछि आयोजनाले निर्माण व्यवसायीमार्फत विस्तारित सडकमा निर्माणको काम अघि बढाइरहेको छ । यस सडकको केही स्थानमा विद्युत्, टेलिफोनका तार र कतिपय स्थानमा रुखसमेत हटाउन कठिन भएको थियो ।
अझै पनि कतिपय स्थानमा घर हटाउन नसकिएको इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनले भने, “ती स्थानमा खाली गराउन लागिएको छ, मापदण्डानुसार जग्गा भएका स्थानमा काम भइरहेको छ ।” यस सडकमा भैँसेपाटी क्षेत्रमा सडक निर्माण भइरहेको इञ्जिनीयर देवकोटाले बताए । साँघुरा बस्ती रहेका स्थानमा भने स्थानीय तहसँगको समन्वय छलफल भइरहेको छ ।
पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ असारदेखि शुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो ।