प्रधानमन्त्री ओली आज साँझ अस्पतालबाट निवास फर्कने

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३० फागुन : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट शुक्रबार साँझ प्रधानमन्त्री निवास फिर्ता हुने भएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले शुक्रबार पत्रकार सम्मेलन गरी उनको स्वास्थ्यावस्था राम्रो रहेकाले निवास फिर्ता गर्न लागिएको जानकारी दिए ।

‘‘प्रधानमन्त्रीलाई उहाँको पूर्ण स्वास्थ्यलाभपछि आज साँझ अस्पतालबाट डिस्चार्ज गरिने भएको छ’’, उनले भने ।

यसअघि मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छिन् ।

प्रधानमन्त्री ओली यही फागुन १९ गते मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पतालमा भर्ना भएका थिए । उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया