दिनभर हिमपात, हवाई उडान अवरुद्ध

राष्ट्रिय समाचार समिति

सिमकोट, ३० फागुन: हुम्लाको खार्पुनाथ, सिमकोट र नाम्खा गाउँपालिकामा दिनभर हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रका अन्य चार गाउँपालिकाका विभिन्न क्षेत्रमा बर्सात भएको छ ।

साबिक डाडाफया, स्याडालगायत नाम्खा गाउँपालिकामा भारी हिमपातले जनजीवन कष्टकर बनाएको नाम्खा गाउँपालिका याल्वाङ्ग महाबौद्ध विद्यालयमा कार्यरत नन्दबहादुर भण्डारीले बताउनुभयो । उत्तरी क्षेत्रमा हिमपातले आवतजावतमा कठिनाइ भएको छ ।

यस्तै जिल्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा निरन्तर हिमपातले यो क्षेत्र सेताम्ये भएको छ । शुक्रबार बिहान ७ बजेबाट लगातार परेको हिमपातले हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई उडान अवरुद्ध बनेको छ ।

हिमपातका कारण उडान अवरुद्ध बनेको सिमकोट विमानस्थल स्रोतले बताएको छ । तीन दिनअगाडि देखि हुम्लामा मौसम परिर्वतन भएसँगै यहाँको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ ।

फागुन अन्तिममा परेको हिमपात र वर्षाले जेठासी बाली सप्रने यहाँका स्थानीयवासीले बताएका छन् । माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी परेका कारण जेठासी बालीका लागि पानीको आवश्यक नपर्ने सिमकोट गाउँपालिका वडा २ का किसान हुनी भण्डारीको भनाइ छ ।

प्रतिक्रिया