थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री बालुवाटार फिर्ता

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० फागुन: “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कनेछु”, दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु अघि भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो ।

आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा मिर्गौलाको सफल प्रत्यारोपण गरी त्यही थप ऊर्जा र आत्मविश्वास लिएर प्रधानमन्त्री आज साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘डिस्चार्ज’ हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनबहादुर ओलीले आर्शिवाद दिनुभएको थियो । डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले यही फागुन २१ गते बिहान करिब १० बजे प्रत्यारोपण शुरु गरेको थियो । करिब पाँच घण्टा लगाएर प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाले एउटा मिर्गाैला दान गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । पहिलो पटक प्रत्यारोपण गरेको मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीले गत कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आउनुभएको थियो ।

डिस्चार्ज हुनुअघि उहाँकी धर्मपत्नी राधिका शाक्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत अस्पताल पुग्नुभएको थियो । प्रधानमन्त्री ओली शिक्षण अस्पतालको अतिविशिष्ट व्यक्तिका लागि छुट्टयाइएको ‘डिलक्स’ कक्षमा भर्ना हुनुभएको थियो । उहाँलाई ६०१ नं शय्यामा भर्ना गरिएको थियो । प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने निर्णय लिएपछि यसलाई शिक्षण अस्पताल चिकित्सकले अवसरका रुपमा लिएको जनाएका थिए ।

त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागका प्रमुख एवं प्रधानमन्त्रीका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहाले शिक्षण अस्पतालका चिकित्सकमाथि भरोसा गरी उपचार गर्ने अवसर दिएको भन्दै आफूहरु गौरवान्वित भएको बताउनुभयो । डिस्चार्जपछि प्रधानमन्त्री समयसमयमा ‘फलोअप’ मा रहनुपर्ने र आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै काम गर्न सक्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा सबैप्रति आभार
डिस्चार्ज भएर बालुवाटार पुगेलगत्तै प्रधानमन्त्रीले ट्वीटमार्फत अस्पतालमा रहँदा स्वास्थ्यलाभको कामना गर्ने मित्र एवं सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाईमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ । “बाह्र दिन लामो अस्पताल बसाइपछि मिर्गौला प्रत्यारोपण गरेर म आज आफ्नो निवासमा फर्केको छु”, उहाँले ट्वीटमा भन्नुभएको छ, “मेरो मिर्गैलाको सफल प्रत्यारोपण गर्ने चिकित्सकप्रति विशेष आभारी छु ।”

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओली दिनभर आफ्नो निवास बालुवाटारमा विभिन्न कार्यक्रममा व्यस्त हुुनुहुन्थ्यो । प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औँ योजनाको आधारपत्रलाई स्वीकृत गरेको थियो । त्यही दिन आफ्नो स्वास्थ्यलाभको कामना गर्न आउनुभएका मुलुकका विशिष्ट व्यक्तिबाट शुभेच्छा लिन पनि भ्याइनभ्याइमा हुनुहुन्थ्यो ।

स्वास्थ्य खबरमा सहजता
प्रधानमन्त्री ओली अस्पताल भर्ना भएदेखि नै उहाँको स्वास्थ्यसम्बन्धी खबर सम्प्रेषण गर्न सञ्चारकर्मीको अस्पताल परिसरमा निकै घुइँचो लागेको थियो । उहाँको स्वास्थ्यका बारेमा जनस्तरमा पनि निकै चासो देखिन्थ्यो । प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी जानकारी दिन अस्पतालले नियमित रुपमा अपराह्न ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै आएकोे थियो ।

एकद्वार प्रणालीबाट सूचना प्रवाह भइरहँदा सञ्चारकर्मीले कुनै कठिनाइ भोग्नु परेको थिएन । त्यस्तै प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी जानकारी सामाजिक सञ्जालमा पनि नियमित भइरहेको थियो । सर्वसाधारणले पनि सहजै सूचनामा पहुँच राखेका थिए ।

प्रतिक्रिया