प्रधानमन्त्री ओलीलाई ‘कन्ट्रोल रुम’मा राखिने

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० फागुन: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण शल्यचिकित्सा टोलीका प्रमुख प्राडा उत्तमकुमार शर्माले उहाँमा कुनै सङ्क्रमण नभएको र पूर्ण स्वास्थ्यलाभ भएपछि नै डिस्चार्ज गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई कुनै सङ्क्रमण नहोस् भनेर बालुवाटारमा ‘कन्ट्रोल रुम’ को बन्दोबस्त गरिएको छ ।

शल्यक्रियापछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । “उहाँको शरीरमा पाइप र टाँका रहेका छन् । घाउ हेरेर पाइप र टाँका एक÷दुई दिनमा निकालिने छ”, उहाँले भन्नुभयो, “सबै पारामिटर हेरेर प्रधानमन्त्रीको शरीरमा राखिएको सबै पाइप निकालिने छ । उहाँलाई इन्फेक्सनको डर छ, उहाँमा सङ्क्रमण नहोस् भनेर बालुवाटारमा पनि चिकित्सकको निगरानीमा राखिने छ ।”

अहिले प्रधानमन्त्रीको शरीर कमजोर रहेको उहाँको भनाइ थियो । ‘कीटाणुले आक्रमण गर्न सक्छ, त्यही भएर औषधि खाइरहनुपर्छ । तीन महिनासम्म आराम गर्नुपर्छ”, डा शर्माले भन्नुभयो, “साधारण काम गर्न सक्नुहुन्छ, प्रत्यक्ष कुराकानी गर्न मिल्दैन, ठूलो शल्याक्रिया पछाडि हिँडडुल गर्न अप्ठ्यारो भएकाले उहाँलाई समातेर लगिएको हो ।”

सार्वजनिक कार्यक्रममा तत्काल सहभागी हुन नहुने र प्रधानमन्त्रीको शारीरिक अवस्था हेरेर यसबारेमा सुझाव दिइने उहाँले बताउनुभयो । उहाँको अवस्था सन्तोषजनक भएपछि डिस्चार्ज गरिएको हो । उहाँको नियमित स्वास्थ्य परीक्षण गरिने छ । प्रधानमन्त्रीलाई बालुवाटारमा भए पनि चिकित्सकको निगरानीमा राखिनेछ ।

प्रतिक्रिया