कस्तो रहला प्रधानमन्त्री ओलीको दिनचर्या ?

admin

काठमाडौं, १ चैत : त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा प्रधानमन्त्री केपी ओलीले हरियो ज्याकेट पहिरे। कटराइजको पाइन्ट लगाए। कालो टोपी मिलाए। डिस्चार्ज भई निस्कँदा उज्यालो मुहारमा शुभेच्छुकप्रति हात उठाए। र भने, ‘धन्यवाद !’

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्केका छन्। उनी फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। पूर्ण स्वास्थ्य लाभपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला बुधबार नै डिस्चार्ज भएकी छन्।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनप्रसादले स्वागत गरेका थिए। बालुवाटारमा दैनिक काम गर्न सकिने र संक्रमणबाट जोगिन सक्ने गरी कक्ष निर्माण गरिएको छ।

कस्तो रहला दिनचर्या ?
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भएपछि बिहीबार हिँडडुल र नियमित व्यायाम गरेका थिए। ‘दाह्री आफैंले काट्नुभएको थियो’, थापाले भने।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहका अनुसार डिस्चार्जपछि पनि समयसमयमा फलोअपमा रहनुपर्ने हुन्छ। बालुवाटारमा चिकित्सकको नियमित निगरानी रहनेछ। ‘उहाँले सतर्कतासाथ नियमित काम गर्न सक्नुहुनेछ’, डा. शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालका चिकित्सकमाथि भरोसा गरी उपचार गर्ने अवसर दिएकोमा अस्पताल परिवार गौरवान्वित भएको विज्ञप्तिमा जनाइएको छ। ‘हामी उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौं। उहाँ अझ ऊर्जावान् भएर देश र जनताको हितका लागि कार्य गर्नुहुनेछ भन्ने विश्वास गर्छाैं’, विज्ञप्तिमा उल्लेख छ।

डा. शाहले प्रधानमन्त्री ओलीको स्वदेशमै प्रत्यारोपण गरी एउटा चुनौतीपूर्ण कार्य सफल भएको बताइन्। उनले भनिन्, ‘आगामी दिन पनि चुनौतीपूर्ण छन्। तर, हामीले गर्न नसक्ने भन्ने छैन। हामीले सावधानी अपनायौं भने धेरै जटिलता आउँदैन होला।’

डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम गर्न थालिसकेकाले समस्या हुने सम्भावना न्यून छ। संक्रमणबाट जोगिने चुनौती छ। एक महिनासँग क्लोजली फलोअप गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। संक्रमण भएका व्यक्तिसँग धेरै नजिक बस्नु हुँदैन। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया