बस काउन्टरमै यात्रुको ज्वरो परीक्षण

admin

बुटवल, २ चैत : बुटवलको पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफु मातहत रहेका विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको शरीरको तापक्रम (ज्वरो) मापन गरेरमात्र टिकट काट्ने भएको अभियान शुरु गरेको छ ।

प्रा.लि.ले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरि आफु मातहत सेवा सञ्चालनमा रहेका सडक खण्डहरुका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको जानकारी दिएको हो।

प्रा.लि.का अध्यक्ष दधिराम खरेलले कोरोनाभाईरसको संक्रमणको त्रासको कारण सरकारले बढी भिडभाड हुने कार्यक्रम नगर्न र भिडभाडमा नजान आग्रह गरिहँदा यसको प्रभाव यातायात क्षेत्रमा समेत परे पनि पहिलो काम यात्रुहरुको सुरक्षा गर्नु रहेकोले ज्वरो मापन गरेरमात्र टिकट काट्ने व्यवस्था गरिएको बताए ।

उनका अनुसार सबै काउण्टरमा उपकरण ल्याईएको र आफ्नै कर्मचारीमार्फत तापक्रम मापन गरि उनिहरुको अवस्था जानकारी गराउने व्यवस्था गरिएको छ ।

कोरोनाको संक्रमणको त्राससँगै सार्वजनिक यातायातमा यात्रुहरुको संख्या पनि घटेको छ । संघका अध्यक्ष खरेलले अहिले यात्रुको संख्या आधाजसो कमी आएको बताए ।

यात्रुहरुलाई तनावमुक्त वातावरणमा ओसारपसार गर्नका लागि संघले विभिन्न अभियान चलाउने उनको भनाइ थियो ।

उनले सार्वजनिक सवारीका साधनमा यात्रुको सुरक्षाको व्यवस्थामा ध्यान दिने गरिएको भए पनि कोरोनाको त्रासले यात्रुहरुको संख्या घट्दै गएको बताए ।

प्रतिक्रिया