पशुपतिका चार शिवलि*ङ्ग व्यक्तिका घर भित्र

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २ चैत: पशुपति मन्दिरमा भट्ट नियुक्त हुँदा ११ शिवलि*ङ्गको दर्शन गरेर मात्रै मन्दिर प्रवेश गर्नुपर्ने नियम छ । ती ११ शिवलि*ङ्गमध्ये हाल चार वटा व्यक्तिगत घरभित्र परेकाले अरू दशनार्थी मात्रै होइन स्वयम् भट्टले दर्शन गर्न पाइरहेका छैनन् ।

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गत विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिको आज बसेको वैठकमा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य–सचिव चेतोनाथ गौतमले लिच्चछवीकालमा नै यी शिवलि*ङ्ग बनेकाले घरहरु पछि बनेका सहज अनुमान गर्न सकिने बताउनुभयो । पशुपति क्षेत्रमा रहेका कतिपय स्मारकको संरक्षण हुन नसकेको उहाँले बताउनुभयो ।

कोषको क्षेत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै व्यक्तिगत घर, सडकलगायतका संरचनाका कारण संरक्षण गर्न कठिन भएको हो । कतिपय मन्दिर घरहरुबीचमा घेरिएको, कतिपय भूकम्पका समयमा क्षति हुँदा पुनःनिर्माण हुन नसकेका र कतिपय सत्तल संरक्षण आवश्यक रहेको कोषले जनाएको छ ।

कोषले यस क्षेत्रको आगामी एक सय वर्षका लागि गुरुयोजना बनाउन लाग्दा यहाँ जग्गाको पुनःनापी गर्नुपर्ने र स्मारकको संरक्षण आवश्यक भएको जनाएको छ । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले यस क्षेत्रमा पहिले धेरै किसिमका जात्रा, पर्व सञ्चालन भए पनि अहिले कतिपय हराउन थालेका बताउनुभयो ।

मन्दिरसँगै आस्थाका हिसाबले जोडिएको वाग्मती नदी फोहर भएकाले यसको सफाइ पनि आवश्यक भएको उहाँको भनाइ छ । विश्व सम्पदा क्षेत्रमा सूचीकृत यस क्षेत्रको विकासमा विभिन्न निकायबीच समन्वय आवश्यक भए पनि अभाव देखिएको छ । यस क्षेत्रमा जुनसुकै समस्या देखिँदा पहिले सबैले कोषलाई भन्ने गरे पनि धेरै कुरा कोषको अधिकार क्षेत्रमा पर्दैन ।

मन्दिरको जग्गा अहिलेसम्म कोषका नाममा नभएकाले त्यसलाई ल्याउन लागिएको छ । उहाँले भन्नुभयो, “यहाँका कतिपय मन्दिर, सत्तल, जात्राहरु पनि कतिपय गुठीको त कति पुरातत्वको स्वामित्वमा छ ।” कोषका पूर्वसदस्य–सचिव गौतमले यस क्षेत्रमा कतिमा मन्दिर भएका मूर्ति नभएको, कतिमा मूर्ति भएका मन्दिर नभएका र कतिपयमा दुवै भए पनि नियमित पूजाआजा नभएको बताउनुभयो । यहाँ रहेका कतिपय निजी गुठीका मन्दिरमा नियमित पूजा नहुँदा कोषले नै त्यसको व्यवस्था गरिरहेको छ । चक्रपथको चावहिल–गौशाला सडक विस्तारका क्रममा यहाँका धेरै स्मारकलाई नोक्सानी पुग्नसक्ने देखिएको उहाँले बताउनुभयो ।

यहाँका सडकलाई हलुका सवारीसाधन चल्ने सडकका रुपमा विकास गरी वैकल्पिक सडकको खोजी गरिनुपर्ने उहाँले बताउनुभयो । सबैभन्दा ठूलो समस्याका रुपमा बहुस्वामित्व रहेको उहाँले औँल्याउनुभयो । गौशालास्थित प्रहरी कार्यालयले यो क्षेत्रसँगै अरू हेर्नुपर्ने हुँदा पर्याप्त ध्यान दिन नसकिरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पशुपतिमा बिहान सबेरैदेखि साँझसम्म मन्दिर, घाट र जङ्गल क्षेत्रमा मानिस हुने भएकाले व्यवस्थापनका लागि प्रहरीको छुट्टै सेल खडा गर्नुपर्छ ।”

समितिकी सभापति पवित्रा निरौला खरेलले पशुपति क्षेत्रमा भएका गलत कुराको अन्त्य गर्ने जिम्मेवारी कोषको भएको बताउनुभयो । शिवलि*ङ्ग व्यक्तिगत घरभित्र रहेको विषयमा सो जमिन पशुपतिनाथको भए कोषले लिनुपर्ने र व्यक्तिको भए कसरी दर्शन गर्ने भनी बाटो खोल्नुपर्नेमा उहाँको जोड छ । कोषले सबै सम्पत्तिको खोजी गरी एकीकृत तथ्याङ्क राख्नुपर्नेमा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “गुमेका जग्गा कहाँ कहाँ कति छ भनी खोज्न जरुरी छ ।”

उपसमितिकी संयोजक सुजिता शाक्यले पशुपति क्षेत्रमा भट्ट र भण्डारीको सेवा, सुविधामा भिन्नता रहेको बताउनुभयो । उपसमितिले विश्व सम्पदा क्षेत्रमा सूचीकृत भएका र नभएका बिभिन्न सम्पदाका बारेमा अध्ययन गरिरहेको छ । उहाँले भन्नुभयो, “अध्ययन सकिएपछि सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने योजना छ ।” गुठी सस्ंथानका प्रमुख पुरातत्व अधिकृत सुरेश सुरस श्रेष्ठले सम्पदा क्षेत्रमा विभिन्न निकायबीच समन्वय हुन नसकेकाले समन्वय गर्ने संयन्त्र आवश्यक भएको बताउनुभयो । सम्पदा क्षेत्रमा योजना बनाउँदा सरोकार राख्ने सबै निकाय एकै ठाउँमा बसेर नदोहोरिने गरी बनाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “सबै निकायको आ–आफ्नो कानून भए पनि समन्वय गर्ने कानून छैन ।”

समितिका सदस्य नारदमनि रानाले पशुपतिनाथले हामी सबैको रक्षा गरे पनि हामीले पशुपतिको रक्षा गर्न नसकिरहेको बताउनुभयो । कोषले सम्पत्ति यति छ भनी एकीकृत तथ्याङ्क राख्नुपर्ने उहाँको सुझाव छ । कोषले धर्मशालामा होटल चलाउन दिएको भनी समितिमा उजुरी परेको छ । मन्दिरमा चढाइएका भेटी, प्रसाद कति आयो र त्यो कहाँ गयो भनी पारदर्शीरुपमा राखिनुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, “पशुपतिनाथ हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको ठाउँ भएकाले त्यसैै नाममा आएका कुरा पारदर्शी हुनुपर्छ ।” समितिका सदस्य सरलाकुमारी यादवले शिवलि*ङ्ग व्यक्तिगत घरमा हुँदा त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनी योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया