कोरोना सङ्क्रमित : साढे ८४ हजारभन्दा बढी मानिस उपचारपछि घर फर्किए

admin

एजेन्सी, ६ चैत : कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका साढे ८४ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विश्वका १ सय ७३ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय क्रुज शिपमा फैलिएको कोरोनाका कारण दुई लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये झण्डै साढे ८४ हजार तीन सय ८६ जना उपचारपछि निको भएका हुन् । सङ्क्रमितमध्ये एक लाख २५ हजार तीन सय ६० जनाले उपचार गराइरहेका छन् ।

अहिलेसम्म सङ्क्रमणबाट आठ हजार ९ सय ४४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा इटलीमा थप चार सय ७५ जनाको ज्यान गएसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ९ सय ७८ पुगेको छ ।

कोरोनाको उद्गमस्थल चीनमा अहिलेसम्म सबैभन्दा धेरै ३ हजार २ सय ३७ जनाको ज्यान गएको छ । युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्यता पाएका राष्ट्रबाट पुग्ने सबै नागरिकलाई फर्काउन थालेको छ ।

अमेरिका र क्यानाडाले पनि आफ्नो सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । कोरोना सर्ने जोखिम रहेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच व्यापारमा कुनै असर नपर्ने गरी दुई देशको सीमा बन्द गर्ने सहमति भएको हो ।

यसैगरी २७ वटा देशले ३० दिने प्रतिबन्ध कार्यान्वयनको लागि विमानस्थल पुगेकाहरुलाई पनि फर्काउन थालेको बीबीसीले जनाएको छ । बेलायतले पनि शुक्रबार देखि अनिश्चितकालको लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ ।

प्रतिक्रिया