काठमाडौं, ९ चैत : कोरोना भाइरस (कोभिड- १९) का कारण एक नेपालीले ज्यान गुमाएका छन् ।
संखुवासभाका ६६ वर्षका लीलाबहादुर राईको गत मंगलबार बेलायतको लण्डनस्थित नर्थविक पार्क अस्पतालमा निधन भएको परिवारको हवाला दिँदै बीबीसीले जनाएको छ ।
राई भूतपूर्व गोर्खा सैनिक हुन् । उनी २००८ देखि बेलायतमा बस्दै आएका थिए । बाथ रोगबाट पीडित राईलाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको थियो ।
बीबीसीका अनुसार डिस्चार्ज गरेको ३-४ दिन पछि उनको स्वास्थ्य बिग्रिएको, सास फेर्न गाह्रो भएसँगै मंगलबार दिउँसो फेरि अस्पताल पुर्याइएको थियो तर त्यहीँ बेलुका उनको निधन भएको पाइएको हो ।
सन् २००८ देखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए । अहिलेसम्म कोरोनाभाइरसको संमणबाट नेपालीले ज्यान गुमाएको औपचारिक जानकारी सार्वजनिक भएको थिएन ।
यो नै नेपालीले ज्यान गुमाएको पहिलो आधिकारिक घटना मानिएको छ । उनमा कोरोनाभाइरसको संक्रमण कसरी भयो भन्ने आधिकारीक जानकारी दिइएको छैन ।
राईको परिवार आफ्नो घरभित्रै अलग्गै (आइसोलेशनमा) बस्दै आएको समाचारमा जनाइएको छ । राईको अन्त्येष्टी बेलायतमै गर्ने योजना रहेको छ ।