कैलाली, ११ चैत : सरकारले मंगलबारबाट पूर्णरुपमा नेपालमा लकडाउन गरिएको अवस्थामा सयौँ नेपाली अलपत्र परेका छन्।
कैलालीसँग जोडिएको गौरिफन्टा नाकामा पनि गएरातिदेखि नै सयौँ नेपाली अलपत्र छन्। कैलालीमा सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको थियो ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने सोमबार निर्णय गरेको थियो । उनीहरुले नेपाल प्रवेशको अनुमति पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भइरहेको छ।
स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसँग समन्वय भइरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुर्याउन पहल भइरहेको बताएका छन् ।
सोमबार साँझसम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमति भए पनि राति आउने क्रम जारी भएकाले उनीहरु अहिले सीमा क्षेत्रमै रोकेको उनले जानकारी दिए। उनीहरुलाई प्रवेश अनुमति दिने वा नदिने विषयमा कुनै निर्णय हुन नसकेको र गन्तव्यसम्म पुर्याउन पहल गरिरहेका बताएका छन् ।
सशस्त्र प्रहरीले माइकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसँग जिल्लागत विवरण मागेको छ। गौरिफन्टा नाकामा अलपत्र परेका सयौँ नेपालीले सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्ने प्रयाससमेत गरेका थिए।