पोखरा, ११ चैत : कोरोना भाइरसलाई नाश गरिदिने भन्दै झुठो भ्रम फैलाएको कारण कास्की प्रहरीले क्रीस्चियनका पास्टर केशव आचार्यलाई पक्राउ गरेको छ ।
आचार्यले यशुको नाममा चर्चमा नागरिकलाई जम्मा पारेर कोरोना भाइरस नष्ट पारिदिने भन्दै भ्रम फैलाएको, यस्तो कार्यबाट जनतामा कोरोना भाइरलबारे भ्रम पैदा हुने र रोकथाममा अवरोध समेत पुग्न सक्ने हुँदा अफवाह फैलाएको कसुर अपराधमा आचार्यलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दान बहादुर कार्कीले बताए ।
राज्य पुरै लकडाउनको अवस्थामा महामारी नियन्त्रणमा सबै जनताले सहयोग गर्न अपिल गर्दै एसपी कार्कीले गलत अफवाह फैलाउने, सामाजिक सञ्जालमा गलत सूचना प्रवाह गर्ने लगायत महामारीको अवस्थामा कानुन विपरित जानेलाई कानुनी दायरामा ल्याईने बताएका छन् ।
आचार्यले चर्चमा विभिन्न किसिमको रोग तथा दुखाइ समेत ठिक पारिदिएको झुठो भिडियो समेत सार्वजनिक भएको थियो । आचार्यलाई मुलुकी अपराध संहिताको दफा ७० बमोजिम झुठो अफवाह फैलाएको कसुरमा म्याद थप गरि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाईने कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार के.सी.ले बताएका छन् ।
आचार्यले कोरोना भाइरसलाई नष्ट गरेको, दुखाई निको पारेको, पाइल्स लगायतको उपचार गरेको झुठो र भ्रम पुर्ण भिडियो सामाग्री सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
आचार्यको कसुर ठहर भए १ वर्षसम्म कैद हुनेछ । धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।