लकडाउन उल्लङ्घन गरी घरबाहिर निस्केका दश जना पक्राउ

admin

चितवन, ११ चैत : सरकारको निर्देशन उल्लङ्घन गरी घरबाहिर निस्केका १० जना पक्राउ परेका छन् । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लङ्घन गरेकाले पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

सरकारको निर्देशन उल्लङ्घन गर्नेलाई पक्राउ गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ । सरकारको सोमबारको निर्णय अनुसार मंगलबारदेखि पूरै देश लकडाउन भएको छ ।

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सोमबारको बैठकले मंगलबार बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।

सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यस्तै सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ । सरकारको यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुनेछ ।

प्रतिक्रिया