सीमानाकामा अलपत्र नेपालीलाई नेपाल प्रवेश गराइने

admin

काठमाडौं, ११ चैत : सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबै सीमा नाका बन्द गरेपछि पनि केही नेपाली नेपाल भारत सीमामा आइपुगेर अलपत्र परेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

कैलालीसँग जोडिएको गौरिफन्टा नाकामा पनि गएरातिदेखि नै सयौँ नेपाली अलपत्र परेका हुन्। उनीहरुले नेपाल प्रवेशको अनुमति पाएका थिएनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भइरहेको थियो। 

बैठकपछि सरकारका प्रवक्ता युवराज खतिवडाले कोरोनाको त्रासले भारतबाट सीमा नाकामा आइपुगेका नेपालीहरुलाई आजका लागि मात्रै नेपाल प्रवेशको अनुमति दिने तर उनीहरु क्वारेनटाइनमा अनिवार्य बस्नुपर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले आइतबार नै सीमा बन्द गरिसकेकाले उनीहरुले नेपाल प्रवेश गर्न पाएका थिएनन् । बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा समग्रमा विश्लेषण पनि भएको बताइएको छ ।

बैठकमा स्वास्थ्य उपकारणहरु ल्याउन नीजि क्षेत्रलाई आह्वान गर्ने र कोषहरु स्थापनाका बारेमा सवै संस्थाहरुले सरकारी कोषमा रकम जम्मा गर्न आह्वान गर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, कसैले कोष बनाएमा जुन संस्थाले बनाएको कोष हो त्यस संस्थाका व्यक्तिहरुबाट मात्रै रकम संकलन गर्न र प्रत्येका साता जम्मा भएको रकम सरकारी कोषमा दाखिला गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

प्रतिक्रिया