झापाका सबै छापा आजदेखि बन्द, कारवाहीमा २०० सवारी साधन

राष्ट्रिय समाचार समिति

सुरुङ्गा ११ चैत :कोरोना भाइरस सङ्क्रमणका कारण झापाबाट प्रकाशित पत्रपत्रिका आजबाट बन्द भएका छन् । पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको भन्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो ।

झापाका सम्पादक÷प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकाशन गर्न कठिनाइ भएकाले बन्द गर्नुपरेको भन्दै विज्ञप्तिसमेत निकालेका छन् । विज्ञप्तिमा बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घलाई आग्रह गरिएको छ ।

झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन् । झापामा नौ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

कारवाहीमा २०० सवारी
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलन नदिन सरकारले गरेको लकडाउन अवज्ञा गर्ने १९५ सवारीसाधन कारवाहीमा परेका छन् । एक सय मोटरसाइकल चालक, ६५ वटा तीन पाङ्ग्रे टेम्पो र चार पाङ्ग्रे साना ठूला सवारी ३० वटाभन्दा बढीलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जबेगूले नियन्त्रणका लिएका सबै सवारीलाई कारवाही गर्दै कोरोनाका विषयमा सम्झाइबुझाइ गरेर छाडिएको बताउनुभयो । झापाका १८ वटा ट्राफिक पोस्टबाट लकडाउन व्यवस्थित बनाउन ट्राफिक प्रहरीले काम गरिरहेको प्रहरी निरीक्षक जबेगूले बताउनुभयो । सरकारको निर्णय कार्यान्वयन गराउन मानिसको भीडभाड हुने स्थानमा प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रतिक्रिया