लकडाउनको आंशिक उल्लंघन, उल्लंघन बढे कर्फ्यु लगाउन निर्देशन

admin

काठमाडौं, १२ चैत: कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को पहिलो दिन पूर्ण रूपमा पालना भएन । अत्यावश्यक कामबाहेकमा बाहिर ननिस्कन भनिए पनि मंगलबार राजधानी र बाहिरका मुख्य चोक, पर्यटकीय केन्द्र र आसपासमा सर्वसाधारणले बेवास्ता गरे ।

‘लकडाउन उल्लंघन’ गर्ने क्रम बढे कर्फ्यु र निषेधाज्ञा जारी गर्न सरकारले मुलुकभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। लकडाउनको पहिलो दिन नेपाल–भारत सीमा क्षेत्र र सहरका भित्री भेगमा सरकारी निर्णय उल्लंघन गरिएपछि संक्रमण फैलन सक्ने सम्भावना औंल्याउँदै थप कडाइ गर्न लागिएको हो। सरकारले मंगलबार बिहानदेखि चैत १८ गतेसम्मका लागि मुलुक लकडाउन गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई विशेष परिपत्र गर्दै ‘उच्च प्राथमिकता र अत्यन्त संवेदनशील भई सरकारको निर्णयलाई पूर्ण रूपमा कार्यान्वयन गर्न’ भनेको छ।

मंगलबार सडकमा निस्किएका कतिपयलाई सुरक्षाकर्मी र टोल सुधार समितिले सम्झाएर घरमा फिर्ता गरेका थिए। लकडाउन पालना नभएपछि बिहानैदेखि सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा धेरैले कर्फ्यु नै लगाउन सरकारलाई सुझावसमेत दिए। विगतमा लकडाउनको अभ्यास र अनुभव नभएकाले पनि यसको पालनामा समस्या देखिएको कतिपयले विश्लेषण गरेका छन्। लकडाउनमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइँदैन। तर ‘नेपाल बन्द’ जस्तो ठानेर सर्वसाधारण बाहिर निस्किएका थिए।

कोरोना संक्रमण फैलन सक्ने जोखिम औंल्याउँदै सरकारका निर्णय कार्यान्वयन गर्ने अधिकार सबै प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए। ‘स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० अनुसार लकडाउन पूर्ण रूपमा कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ,’ शर्माले कान्तिपुरसँग भने, ‘यसलाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीले कानुनले दिएका सबै अधिकार आवश्यकताअनुसार प्रयोग गर्न पाउनुहुनेछ।’

प्रशासनले मानव आवतजावतलाई निरुत्साहित गर्न र अटेर गर्नेलाई बल प्रयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। कोरोना डेडिकेटेड अस्पताल र क्वारेन्टाइनको सुरक्षामा सेनासहितको टोली खटिएको छ। सशस्त्रको फौज ब्याक फोर्सका रूपमा तैनाथ छ। फ्रन्ट लाइनमा स्वास्थ्यकर्मीसहितको प्रहरी टोली खटिएको छ। सर्वसाधारणलाई घरभित्र रहन आग्रह गर्दै चोकचोकमा प्रहरी खटाइएका छन्।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले रोगविरुद्धको लकडाउन भएकाले नागरिक आफैं पनि सचेत भएको बताए। ‘यो बल प्रयोग वा हूलहुज्जत गर्ने बेला होइन, नागरिकले पनि बुझ्नुभएकै छ,’ उनले भने, ‘पहिलो दिन अन्योल सिर्जना भएर पनि कतिपय ठाउँमा आवतजावत भएको हो, बिस्तारै यो पनि नियन्त्रणमा आउँछ। महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्याम ज्ञवालीले सुरक्षा निकाय आफ्नो क्षेत्रमा छुट्टाछुट्टै खटिएको र माइकिङ गरी सर्वसाधारणलाई घरभित्रै बस्न अपिल गरिएको बताए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया