फ्रान्सबाट नेपाल आएकी महिलाको कोरोना पुष्टि भएतापनि नमूना सङ्कलन हुन सकेन

admin

बागलुङ, १२ चैत : स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ ।

सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी बागलुङ नगरपालिका-४ का एक महिलाको नमूना सङ्कलन गर्न नसकिएको धौलागिरि अञ्चल अस्पतालले जनाएको छ ।

काठमाडौंमा कोरोना सङ्क्रमणको पुष्टि भएकी युवतीसँगै कतार एयरवेजबाट आएकी बागलुङकी महिलाको नमूना सङ्कलनमा समस्या आएको हो । घरमा नै बसेकी उनलाई केही दिनदेखि ज्वरो आउने, रुघा लाग्नेलगायत लक्षण देखापरेपछि उनको परिवार मंगलबार अञ्चल अस्पतालको सम्पर्कमा आएको थियो ।

बिरामीको परिवारले अस्पतालमा सम्पर्क गरेर उनी बिरामी रहेको जानकारी गराए पनि सुरक्ष कवचका अभावमा कोरोना परीक्षणका लागि नमूना सङ्कलन गर्न कठिन भएको अस्पतालका डा. पूजन बल्लले जानकारी दिए । सुरक्षा कवच नभएकै कारण अस्पतालको आइसोलेशन कक्षसम्म उनलाई ल्याउन नसकिएको हो ।

सुरक्षा कवच नलगाई बिरामीलाई आईसोलेशन वार्डसम्म ल्याउन नमिल्ने र स्वास्थ्यकर्मीसमेत बिरामीको नजीक जान नमिल्ने भएकाले समस्या भएको डा. बल्लले बताए । अस्पतालमा रहेका दुई थान सुरक्षा कवच सोमबार नै अस्पतालमा आएका बाग्लुङ नगरपालिकाकै अर्का बिरामीको स्वाब सङ्कलनमा प्रयोग भएको थियो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले मंगलबार अपराह्न गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग पहल गरेर पाँच थान सुरक्षा कवच प्राप्त गरेका छन् । पोखराबाट बाग्लुङ आउन समय लाग्ने भएकाले बुधबार बिहानसम्म ती महिलाको घाँटीको स्वाब लिन सकिने अस्पतालले जनाएको छ ।

डा. बल्लका अनुसार ती महिलालाई बुधबार बिहान मात्रै आइसोलेशन वार्डमा लिन सकिने छ । मंगलबार भने ती बिरामी महिला घरमा नै क्वारेन्टाइनमा छिन् । जिल्लामा शङ्कास्पद बिरामी देखिन थालेपछि ३० थान सुरक्षा कवच तत्काल खरीद गर्ने तयारीमा रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया