नगरकोटका होटलमा क्वारेन्टाइन र दुवाकोट अस्पतालमा आइसोलेसन

राष्ट्रिय समाचार समिति

भक्तपुर, १२ चैत : कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले नगरकोटका होटललाई क्वारेन्टाइन र दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लाई आइसीयू एवं भेण्टिलेटरका साथै आइसोलेसन वार्डसहितको अस्पताल बनाउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री योगेश भट्टराईले आज भक्तपुरको प्रमुख पर्यटकीयस्थल नगरकोटका होटल र केएमसी अस्पतालको अनुगमन गर्दै होटल र केएमसी अस्पतालको अनुगमनपछि यस्तो निर्णय भएको हो । मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, पर्यटन विभागका निर्देशकसहित नगरकोट पुग्नुभएका मन्त्री भट्टराईले दुवै स्थानको अनुगमनपछि नगरकोटका होटललाई क्वारेन्टाइन र केएमसी अस्पताल दु्वाकोटलाई कोरोना सङ्क्रमणका बिरामीको उपचार गर्ने गरी तयारी गर्न प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई निर्देशन दिनुभयो ।

क्वारेन्टाइन र आइसोलेसन तयार गर्न प्रजिअ पाण्डेको संयोजकत्वमा महानगरीय प्रहरी परिसर भक्तपुर, वीर दल गणका गणपति, सशस्त्र प्रहरी गण दुवाकोटका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख, नगरकोटका पर्यटन व्यवसायी सदस्य रहेको समिति बनाइएको छ । समितिले तत्कालै त्यसले अध्ययन गरेर होटलका कोठा छान्ने र क्वारेन्टाइनस्थल बनाउन लाग्ने स्रोतसाधनबारे जानकारी गराउन निर्देशन दिइएको छ ।

कोभिड–१९ सङ्क्रमित बिरामी बढ्दै गए उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गर्दै क्वारेन्टाइनदेखि आइसोलेसनसम्म तयारी अवस्थामा राख्ने गरी मन्त्री भट्टराईसहितको टोली, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, नगरकोट नाल्दुम पर्यटन विकास समितिका पदाधिकारी, प्रजिअ, सुरक्षा निकायका प्रमुखबीच यसबारेमा छलफल भएको थियो ।

कोरोना भाइरसको सङ्क्रमणमका कारण बाह्य तथा आन्तरिक पर्यटन शून्य रहेको अवस्थामा खाली रहेका नगरकोटका होटलमा तत्काल ५०० कोठा प्रयोग गर्नेगरी क्वारेन्टाइन बनाइने भएको चाँगुनारायणका नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो । यहाँका ११ होटलबाट एक हजारको क्षमता रहेको बारेमा मन्त्रीसहितको टोली र पर्यटन समितिबीच भएको छलफलमा तत्काललाई ५०० बेडको क्वारेन्टाइन तयार गर्ने र आवश्यकता पर्दा थप्दै जानेबारेमा सहमति भएको छ ।

होटललाई क्वारेन्टाइन बनाएपछि व्यवस्थापन कसरी गर्ने, सुरक्षाको व्यवस्था कस्तो हुन्छ, क्वारेन्टाइनमा रहेकाको सेवा, सुविधा र शुल्क के गर्ने भन्नेबारेमा व्यवसायीले छलफल गरेर निर्णय गरिने भएको छ । यसअघि मङ्लबार नेपाली सेनाको वीरदल गणका गणपति शिव पौडेलसहितको टोलीले नगरकोटका होटलको अनुगमन गरी क्वारेन्टाइन बनाउनेबारे अध्ययन गरेको थियो ।

नगरकोटमा सञ्चालनमा रहेका होटलमा दुई हजार कोठा रहेका छन् । त्यसमध्ये पाँच सयलाई तत्काल क्वारेन्टाइन बनाउन निर्देशन दिइएको छ । व्यवसायीले क्वारेन्टाइनस्थल बनाउन सहयोग गर्ने र अन्तिम निर्णय व्यवसायीको आन्तरिक छलफलपछि दिइने नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

सरकारले क्वारेन्टाइनस्थल तयार पार्न मन्त्री भट्टराईको नेतृत्वमा बनाइएको समितिले काठमाडौं उपत्यकामा पाँच हजार मानिसलाई राख्न सक्ने गरी क्वारेन्टाइनस्थल बनाउने तयारी गरेको र यसका लागि सुरुमा होटल तथा सरकारी भवन उपयोग गरिने भएको छ । मन्त्री भट्टराई नेतृत्वको टोलीले आजै दुवाकोटस्थित केएमसी अस्पतालको अनुगमन गरेको छ । चाँगुनारायण नगरपालिकामा रहेको उक्त मेडिकल कलेजमा ४० श्ययाको सुविधासम्पन्न आइसोलेसन वार्ड तयार पारिने भएको छ ।

त्यहाँ आवश्यक पर्दा २०० श्ययाको आइसोलेसन वार्ड बनाउन सकिने देखिएको छ । तर पर्सनल प्रोटेक्टिभ इक्वीपमेट (पीपीई) लगायतका सुरक्षा उपकरण चाहिने अस्पतालले बताएको छ । यस अस्पतालमा भेण्टिलेटर सहितको आईसीयू र अन्य आवश्यक पूर्वाधार तयार गरी आवश्यकता परे कोरोना भाइरस सङ्क्रमितको समेत उपचार गर्न मिल्ने गरी आइसोलेसन तयार गरिने भएको छ ।

प्रतिक्रिया