इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत

admin

काठमाडौं, १३ चैत : सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हाल इन्डक्सन चुलोको आयातमा १५ प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने गरेको छ । योमध्ये १५ प्रतिशत भन्सार छुट हुनेछ । भ्याट भने यथावत नै रहनेछ ।

‘इन्डक्सन चुलो प्रयोग गर्न प्रोत्साहन दिन अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समन्वय गरी विद्युत् महसुल र भन्सार महसुल छुट दिने व्यवस्था मिलाउन आग्रह गरिएको’, सहभागी एक मन्त्रीले बताए । कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै सरकारलाई एलपी ग्यासको आपूर्ति सहज बनाउन चुनौती भइरहेको छ । अर्कोतर्फ विद्युत् खपत घटिरहेको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत्को सहज आपूर्ति भएको बताउँदै इन्डक्सन चुल्हो लगायत विद्युतीय सामग्री निस्फिक्री प्रयोग गर्न आग्रह गरिरहेको छ ।

प्राधिकरणका अनुसार बिहान बेलुका विद्युत्को माग सामान्य अवस्थामा १,२०० मेगावाटसम्म पुगेकोमा अहिले पिकमा पनि ९ सय ४५ मेगावाट माग छ । विद्युत् महसुल र भन्सार महसुलमा छुट दिँदा इन्डक्सन चुल्हो किफायती पर्ने देखिएको छ ।

त्यस्तै विद्युत् महसुलमा पनि उपभोक्तालाई छुट दिने निर्णय भएको छ । हाल २० युनिटसम्मको खपतमा ८ रुपैयाँ प्रति युनिट लाग्ने भएपनि बढी विद्युत् खपत गर्नेले बढी महशुल तिर्नुपर्छ ।

जानकारका अनुसार अहिलेको विद्युत्को महशुल नीतिले बढी विद्युत् खपत गर्न निरुत्साहित गर्छ । यो महशुल नीति लोडसेडिङको समयमा विद्युत् खपतमा किफायती र कम खपत गराउने उद्देश्यले तयार गरिएको थियो । विद्युत्को आपूर्ति बढे पनि महशुल नीति भने यथावत् छ । अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया