हात्तीको आक्रमणबाट दुई घाइते

राष्ट्रिय समाचार समिति

सिन्धुली, १३ चैत : सिन्धुलीमा हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन् । दुधौली नगरपालिका–१ गिचियानीमा गए राति हात्तीको आक्रमणबाट अन्दाजी ५० वर्षीय देवु धामी र उहाँकी श्रीमती अन्दाजी ४१ वर्षीय फुलवती धामी घाइते भएका हुन् । उहाँहरुलाई उपचारका लागि डकाहामा रहेको आमा मेमोरियल अस्पतालमा एम्बुलेन्समार्फत पठाइएको स्थानीयवासी तीर्थ बरालले जानकारी दिनुभयो ।

घरमै सुतेको अवस्थामा हात्तीले घर भत्काई उहाँहरुलाई सुँढले तानेर फाल्दा घाइते हुनुभएको हो । देवुको टाउकोमा र फुलवतीको खुट्टामा चोट लागेको छ । यस्तै हात्तीले घर पूर्णरूपमा क्षति गरेको उहाँले जानकारी दिनुभयो ।

विगतमा समूहमा आबद्ध भई हात्तीबाट जोगिन र हात्तीको गतिविधि नियाल्ने गरेको भए पनि यस वर्ष कति हात्ती आए भन्नेसमेत थाहा नभएको उहाँले बताउनुभयो । कोरोनाको त्रासका कारण सबै घरमा बस्नुपर्ने र हात्तीको त्रास बढ्दा आफूहरु दोहोरो त्रासमा रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया