नेपालमा जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुनसक्ने

admin

काठमाडौं, १३ चैत : कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मंलबारदेखि घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत बढेको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेटको खपत कम गर्न आग्रह गरेका छन् । यो समयमा जुनसुकै बेला पनि इन्टरनेट अवरुद्ध हुने चेतावनी दिइएको छ । इन्टरनेटमा कुनै समस्या आएको खण्डमा मर्मतसम्भार गर्न नसकिने उनीहरुको भनाइ छ । 

दूरसञ्चार तथा निजि क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर बिस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग नै एकमात्र विकल्प बन्दा यसको खपतमा उच्च दरमा बढेको बताएका छन् ।

यसबाहेक कोरोना भाइरस सँग सम्बन्धित सूचना तथा जानकारीका लागि पनि अनलाइन सजिलो माध्यम भएकोले अन्य दिनमा भन्दा इन्टरनेटको खपत तुलनात्मक रूपमा बढेको हो । संकटको घडीमा इन्टरनेटको प्रयोग सहि तरिकाले गर्न इन्टरनेटमा बिताउने समय कम गर्न इन्टरनेट सेवा प्रदायकहरूले आग्रह गरेका छन् । 

घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइस्पान)का अध्यक्ष भोजराज भट्टले बताएका छन् ।

नेपालमा सामान्यतः बेलुका ७ बजेदेखि राति १० बजेसम्मको समयलाई इन्टरनेटको पिक आवर मानिन्छ तर मंगलबार दिउँसो १२/१ बजेतिर नै पिक आवरभन्दा बढी इन्टरनेट ब्यान्डविथ खपत भएको भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहराले जानकारी दिए ।

इन्टरनेटको वास्तविक खपतको अवस्था बुझ्न मंगलबार चौबीसै घन्टाकै विश्लेषण गर्नुपर्ने भए पनि अन्य दिनमा भन्दा ब्यान्डविथ स्पष्ट रूपमा बढेको पाइएको उनले बताए। इन्टरनेटको प्रयोग अत्यधिक बढ्दै गएपछि आइस्पानले सार्वजनिक सूचना नै जारी गरेर मनोरञ्जनात्मकभन्दा पनि सूचनामूलक सेवाका लागि प्रयोग गर्न आग्रह गरेको छ ।

ब्यान्डविथ खपत बढ्दा सेवा प्रदायकको नेटवर्कमा अत्यधिक भार बढेकोले अधिक इन्टरनेट खपत हुने सेवा प्रयोग नगर्न आइस्पानले अनुरोध गरेको छ । नियामक प्राधिकरणले कोरोना भाइरसको समस्याले इन्टरनेटको खपत अस्वाभाविक रूपमा वृद्धि हुँदा नेटवर्क ट्राफिक साँघुरो बन्दै गएको जनाएको छ ।

यसरी ट्राफिक बढ्दा सेवा नै अवरुद्ध हुने जोखिम भएकोले आवश्यकता अनुसार मात्र इन्टरनेटको प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । प्राथमिकताका आवश्यक एप्लिकेसन मात्र प्रयोग गरी सहयोग गरिदिनु प्राधिकरणले सार्वजनिक सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया