वीरगञ्ज नाकाबाट निर्बाध ग्यास र पेट्रोल भित्रिँदै

राष्ट्रिय समाचार समिति

वीरगञ्ज, १३ चैत: लकडाउनका समयमा पनि भारतबाट वीरगञ्ज नाका भएर ग्यास र पेट्रोलियम पदार्थ अत्यधिक मात्रामा भित्रिएको वीरगञ्ज भन्सारले जनाएको छ । यही चैत १० देखि लागु भएको लकडाउनका समयमा भारतका विभिन्न ठाउँबाट चैत १२ गतेसम्म ८४ बुलेट एलपी ग्यास, २८ लाख ५२ हजार किलोलिटर पेट्रोल र २७ लाख ५२ हजार किलोलिटर डिजल वीरगञ्ज नाकाबाट बताइएको छ ।

सोही अवधिमा तरकारी, खाद्यान्नलगायत सामान सहज रुपमा नेपाल भित्रिएको र आज पनि आएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताउनुभयो । यसैबीच प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराका अनुसार लकडाउनका समयमा सङ्घीय सरकारले छुट दिएका सवारी साधनबाहेक अन्य सवारी साधन भने चलेका छैनन् ।

लकडाउनका समयमा अत्यावश्यक एम्बुलेन्स, खाद्यान्न, फलफूल तथा पेट्रोलियम पदार्थ बोकेको सवारी साधन निर्बाध रुपमा चलेको सो कार्यालयका ट्राफिक प्रहरी उपरीक्षक श्यामकुमार महतोले राससलाई बताउनुभयो ।

प्रतिक्रिया