तरकारीको मूल्य आकाशियो

राष्ट्रिय समाचार समिति

सुर्खेत, १३ चैत : विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको मूल्य बढेको छ । गृह मन्त्रालयले सुरक्षित भएर व्यवसायिलाई दैनिक उपभोग्य खाद्यवस्तुको बिक्री वितरण गर्न निर्देशन दिए पनि स्थानीय प्रहरीले रोक लगाउँदा कर्णाली प्रदेश राजधानीमा तरकारी तथा फलफूलको अभाव देखिएको हो ।

छिटफुट खुलेका तरकारी तथा फलफूल पसल पनि प्रहरीले बन्द गर्न आह्वान गर्दा व्यवसायीले मूल्य बढाउने मौका पाएको उपभोक्ताले गुनासो गरेका छन् । लक डाउन हुनु दुई दिन अघि फुटकर प्रतिकिलो रु ३० मा पाइने बन्दागोभी अहिले रु ६०÷७० मा बिक्री हुने गरेको छ । प्रतिकिलो रु ४० मा पाइने टमाटरको मूल्य बढाएर १०० रुपैयाँ पु¥याइएको छ ।

त्यस्तै, अङ्गुरप्रति किलो रु ३००, केरा प्रति दर्जन रु १२०, आलु प्रति केजी रु ६०, भिण्डी प्रतिकिलो रु १००, करेला प्रतिकिलो रु १००, हरियो सिमी प्रतिकिलो रु १००, काउली रु ६० मा बिक्री भइरहेको छ । वीरेन्द्रनगर बसपार्क जाने बाटोका सब्जी पसल मात्र खुला छन् । त्यसबाहेक अधिकांश तरकारी तथा फलफूल पसल, डेरी, खाद्यान्न पसल बन्द हुँदा कतिपय व्यवसायीले उपभोग्य बस्तुको मूल्य बढाएको पाइएको छ ।

वीरेन्द्रनगर मङ्गलगढी चोकमा व्यवसाय गर्दै आउनुभएकी कृष्णा शर्माले ठूला मण्डी खुला र साना पसल बन्द गरिँदा मण्डी सञ्चालकले एकाएक मूल्य बढाएको बताउनुभयो । डेरी पनि बन्द हुँदा दूध, दही किन्न समस्या भएको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकारकर्मी रामप्रसाद शर्माले ‘लक डाउन’ लाई स्थानीय प्रशासनले ‘नेपाल बन्द’ को जस्तै कडाइ गर्दा दैनिक उपभोग्य वस्तु किन्न समस्या भएको बताउनुभयो ।

लक डाउनका कारण प्रहरीले अनावश्यक त्रास फैलाउँदा कतिपय व्यवसायी आफैले पसल बन्द गरेको पाइएको छ । “प्रहरीले दूध, दही ढुवानी गर्न दिन्छ तर डेरी र चिसा पसल बन्द गर्न लगाउँछ”, वीरेन्द्रनगर–१ मा चिसा पसल सञ्चालन गर्दै आउनुभएका नवराज गौतमले भन्नुभयो, “डेरीको दूध सडेर जाने अवस्था सिर्जना भयो, त्यसैले अधिकांश डेरी पसल बन्द छन् ।” मङ्गलगढी, ऐरीचोक र लाटीकोइलीका डेरी पसल पनि प्रहरीले बन्द गरेको व्यवसायीको गुनासो छ ।

लक डाउनको अनुगमन नहुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन थालेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको संयोजकत्वमा खाद्यवस्तु आपूर्तिसम्बन्धी संयन्त्र गठन गरे पनि त्यसले प्रभावकारी काम गर्न सकेको छैन । मन्त्री बुढाले दैनिक एकपटक वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा आफू नेतृत्वको समितिले अनुगमन गरिरहेको बताउनुभयो । कृत्रिम अभाव हुन नदिन, कालोबजारी हुन नदिन आफूहरुले छड्के अनुगमन गर्ने उहाँको भनाइ छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले वीरेन्द्रनगर नगरपालिका, उद्योग वाणिज्य सङ्घ लगायतको सहभागितामा बजार अनुगमन, आपूर्ति व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । “दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सचेत छौँ”, उहाँले भन्नुभयो, “आपूर्ति कम भएको अवस्थामा पर्याप्त मात्रामा नपाइनु स्वभाविक हो, कसरी आपूर्तिलाई सहज बनाउन सकिन्छ भनेर हामी छलफलमै छौँ ।” प्रजिअ न्यौपानेले तरकारी, फलफूल र दूधलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी नरोकिएको जिकिर गर्नुभयो ।

मङ्गलबारदेखि लक डाउन हुँदा थुपै्र सब्जी मण्डी र पसलमा तरकारी तथा फलफूल सडेर नष्ट भएको व्यवसायीको गुनासो छ । व्यवसायीले सुन्तला, स्याउ, केरालगायतका फलफूलको अभाव भएको बताएका छन् । लक डाउनका कारण बाँकेको नेपालगञ्ज र दैलेखको रानीमत्ता गुराँसे क्षेत्रबाट ढुवानी हुने तरकारी तथा फलफूल बन्द छ । महँगी बढ्दा न्यून आयस्तर भएका, ज्यालामजदुरी गरेर खाने वर्ग तथा विस्थापित समुदायलाई मर्का परेको छ ।

प्रतिक्रिया