कांग्रेस सांसदको घरमा क्वारेन्टाइन बनाएपछि नेकपाका युवा-विद्यार्थी आक्रोशित

admin

रसुवा, १४ चैत : कांग्रेस सांसदको नीजि निवासमा क्वारेन्टाइन निर्माण गरेपछि नेकपानिकट युवा -विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले कार्यपालिकाले गरेको निर्णय विपरित संघीय सांसद मोहन आचार्यको घरमा क्वारेन्टाइन निर्माण गरेपछि उनीहरु आक्रोशित बनेका हुन् ।

शुक्रबार फरक/फरक विज्ञप्ति जारी गर्दै नेकपानिकट राष्ट्रिय युवा संघ रसुवा र अनेरास्ववियू रसुवाले सिंगो मुलुक महामारीको सम्भावित जोखिमसंग लडिरहेका बेला कांग्रेसले गैरजिम्मेवारीपन देखाएको आरोपसमेत लगाए ।

क्वारेन्टाइन निर्माण जस्तो संवेदनशील विषयलाई नेपाली कांग्रेसले आफ्नो राजनीतिक लाभको विषय बनाएको उनीहरुको आरोप छ । जिल्ला विपद व्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकास्थित स्वास्थ्य संस्था, सामुदायिक भवन तथा सरकारी विद्यालयहरुमा क्वारेन्टाइन निर्माण गर्नुपर्नेमा सांसदको घरमा निर्माण गरिएको भन्दै उनीहरुले तत्काल निर्णय सच्याउन मागसमेत गरे ।

कांग्रेसको झन्डामुनि सरकारी लोगोको दुरुपयोग गरिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको झन्डामुनि व्यक्तिको नीजि घरमा सरकारी लोगो र सरकारी पैसाबाट कुन नियतका साथ् क्वारेन्टाइन निर्माण भयो ? हामी जोडदार प्रश्न गर्न चाहन्छौ।’

जारी विज्ञप्तिमा कांग्रेसको नियतमाथि प्रश्न उठाउँदै भर्त्सना गरिएको छ । साथै सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराइएको छ । तत्काल निर्णय नसच्याए यसबाट पर्ने क्षेतीको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रसुवाका इन्चार्ज लक्ष्मण घिमिरेले विपद्का बेलासमेत कांग्रेसले संवेदनशीलता देखाउन नसकेको आरोप लगाए । पुरै देश एकतावद्ध भएर सम्भावित जोखिमको सामना गर्नुपर्नेमा कांग्रेसले अनावश्यक राजनीति गरेको भन्दै उनले असन्तुष्टि जनाए ।

यसअघि चैत ७ गते बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले कोरोना सम्बन्धि ७ बुँदे निर्णय गर्दै पलिकास्थित निलकण्ठ उच्च मावि र डाँडागाउँ माविको भवनमा क्वारेन्टाइन निर्माण गर्ने भनिएको थियो । तर, उक्त निर्णय विपरित गाउँपालिकाका अध्यक्ष लम्सालले सांसद आचार्यको घरमा क्वारेन्टाइन निर्माण गरेपछि स्थानीयसमेत आक्रोशित बनेका थिए ।

विपदको प्रतिकूल समयमा आपसी सहयोग र सहकार्यको भावनालाई आत्मसात गर्दै एकतावद्ध हुनुपर्नेमा उल्टै आफ्नो निहित राजनैतिक स्वार्थ पुरा गर्नेगरि सरकारी बजेटको दुरुपयोग गरिएको भन्दै नेकपा रसुवाले असन्तुष्टि जनाइरहेको छ ।

प्रतिक्रिया