सरकारद्वारा ‘लकडाउन’ लम्ब्याउने तयारी

admin

काठमाडौं, १६ चैत : सरकारले ‘लकडाउन’लाई थप गर्ने तयारी गरेको छ । लकडाउन थप गर्नेबारे औपचारिक निर्णय हुन बाँकी रहे पनि तयारी अवस्थामा रहन आमनागरिकलाई आग्रह गरिएको छ ।

परराष्ट्रमन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका सदस्य प्रदीपकुमार ज्ञवालीले अहिलेसम्म लकडाउन सफल भएको र समुदायमा कोरोना सङ्क्रमण फैलन नदिन लकडाउन केही दिन थप गर्नेबारे छलफल भएरहेको र उच्चस्तरीय संयन्त्रको बैठक बसेर निर्णय गर्ने बताएका छन् ।

१४ दिनसम्म कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिने जोखिम कायमै हुने भएकाले शङ्कास्पद बिरामीको पहिचान र उपचार गर्न सहज वातावरण बनाउन पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने अवस्था रहेको उनले बताए।

लकडाउनका बेला अत्यावश्यक सामग्रीको अभाव हुन नदिन, मौज्दात रहेको र खाद्यान्न नियमित बिक्री वितरणको व्यवस्था मिलाएको पनि मन्त्री ज्ञवालीले जानकारी दिएका छन्।

ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई आवश्यक सहयोग गर्न सरकार गम्भीर रहेको र तत्कालका लागि पालिकाहरुले यसको समन्वय गर्नुपर्नेमा उनले बताए ।

सरकारले निम्न आय भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गरिरहेका वर्गलाई भोकै मर्न नदिने उनको भनाइ छ ।

 

प्रतिक्रिया