प्रदेश २ सरकारले ‘लकडाउन’ अवधिभर गरिब तथा मजदुरलाई खानाको व्यवस्था गर्ने

admin

जनकपुर, १६ चैत : प्रदेश नम्बर २ सरकारले लकडाउन अवधिभर प्रदेशका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई खानाको व्यवस्था गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनका कारण समस्यामा परेका गरिब मजदुरको जीवन रक्षाको लागि खानाको व्यवस्था गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

यसको व्यवस्थापन स्थानीय तहसँग समन्वय गरेर तत्कालको लागि प्रदेशको एकमात्र महानगर वीरगंजलाई २५ लाख, उपमहानगरलाई २० लाख तथा हरेक नगरपालिकालाई १५ लाख र गाँउपालिकालाई १० लाखको दरले रकम पठाउने सरकारले निर्णय गरेको छ ।

प्रदेश सरकारले सोही बराबरको रकम स्थानीय तहलाई समेत राख्न आग्रह गरेको छ । यसका लागि प्रत्येक स्थानीय तहमा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय समाजसेवी संस्था सम्मलित सर्वपक्षीय समिति गठन गरेर काम गर्नेगरी कार्यविधि बनाइएको छ ।

प्रतिक्रिया