कोरोना सङ्क्रमण नियन्त्रणका लागि सिद्धार्थ बैंकद्वारा १० लाख सहयोग

admin

हेटौंडा, १६ चैत : सिदार्थ बैंक लिमिटेडले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि वाग्मती प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेललाई सो बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सञ्जेलले शनिबार रु १० लाखको चेक हस्तातरण गरेका हुन् । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले सो रकम हस्तान्तरण गरेको जनाएको छ ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पुर्‍याउनु महान् कार्य भएको बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने विश्वास दिलाउँदै बैंकलाई धन्यवाद दिएका थिए ।

बैंकका शाखा प्रमुख सञ्जेलले देश सङ्कटमा रहेको बेला बैंकले साथ दिएको उल्लेख गर्दै सातवटै प्रदेशमा रु १०/१० लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने बैंकको निर्णयानुसार यो प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको जानकारी दिए ।

यसअघि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरणबहादुर जोशीले प्रदेश सरकारको कोषलाई रु दश लाख र जिल्ला समन्वय समितिको कोषलाई रु दुई लाख गरी कूल रु १२ लाख उपलब्ध गराउने घोषणा गरिसकेका छन् ।

यसैगरी वाग्मती प्रदेश प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाले कोरोना भाइरस नियन्त्रण अभियानका लागि मकवानपुरको कैलाश गाउँपालिका तथा राक्सिराङ गाउँपालिकालाई रु दुई/दुई लाख र मनहरी गाउँपालिकालाई रु एक लाख रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिक्रिया