रिपोर्ट नआउँदै बिरामीको मृत्यु भएपछि परिवार नै क्वारेन्टाइनमा

admin

बुटबल, १६ चैत : कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना गरिएका ३४ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।

आइतबार उनको कोरोना सङ्क्रमण परीक्षणका लागि स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्यु भएको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताएका छन् ।

वैदेशिक रोजगारीका लागि विदेशमा रहेका उनी यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाको अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेका थिए ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएकामा उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा आइतबार पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका ‘फोकलपर्सन’ वरिष्ठ फिजिसियन डा. सुदर्शन थापाले बताए ।

उनको मृत्युपछि उनको परिवारलाई समेत स्वाबको रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनेसमेत डा. खनालले जानकारी दिए ।

प्रतिक्रिया