विशेषज्ञ आए, सामान बुझाए, गए !

राष्ट्रिय समाचार समिति

बलेवा, १८ चैत : ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ ।

स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ आइपुग्नुभएको थियो । डा गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।

उहाँहरु आउने खबरले बागलुङमा विदेशबाट आएका संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जगाएको अञ्चल अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले सुनाउनुभयो । उहाँहरु सामान मात्रै छाडेर हिँडेकाले त्रासमा रहेको बागलुङले राहत महसुस गर्न सकेको छैन ।

उहाँहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई उक्त सामग्री बुझाएर फर्केको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले बताउनुभयो । उहाँहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यले यहाँका समस्या राखेका थिए ।

सङ्घीय सांसद डा सूर्य पाठकले काठमाडौंँबाट बागलुङका लागि १०० थान पिपिई लिएर जनशक्ति हिँडेको बताइए पनि अस्पतालमा भने ५० थान मात्रै ल्याइएको छ र उहाँहरुले आवश्यक परामर्श र कोरोना संक्रमित युवतीको परिवारको स्वाब संकलनमा सहयोग गर्ने पाठकले बताए पनि उहाँहरु सामग्री हस्तान्तरणलगत्तै जिल्लाबाट बाहिरिनुभएको थियो ।

प्रतिक्रिया