विदेशबाट फर्किएका एक तिहाइ क्वारेन्टाइन बाहिर

राष्ट्रिय समाचार समिति

फिदिम, १८ चैत: पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन सक्ने आशङ्कामा चैत महिनाभित्र नेपाल आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने भनिए पनि पाँचथरमा त्यस्ता करीब ३३ प्रतिशत मानिस कुनै पनि प्रकारको क्वारेन्टाइनमा नरहेको उक्त तथ्याङ्कले देखाएको छ ।

भारत सहित अन्य विदेशी मुलुकबाट आएका मानिस तथा उनीहरुको परिवारका सदस्य क्वारेन्टाइनमा नरहँदा कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना हुनाका साथै ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलिने भयसमेत सिर्जना भएको छ । कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा प्रतिकार्य जिल्ला समन्वय समितिको सोमबार साँझसम्मको तथ्याङ्कानुसार चैत शुरु भएयता १४९ जना विदेशबाट यहाँ आएका छन् ।

यहाँ आएकामध्ये ५४ जना क्वारेन्टाइनमा बसेका छन् भने ३५ जना होम क्वारेन्टाइनमा छन् । तीन जना आइसोलेशनमा तथा चार जना मोरङको मिक्जालुङमा रहेको क्वारेन्टाइनमा छन् । बाँकी सरकारी निकायको सम्पर्कभन्दा बाहिर छन् । उनीहरुले सतर्कता अपनाए÷नपनाएको तथा कोरोना भाइरसबारे सचेत रहे÷नरहेको प्रष्ट छैन् ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । “सबैलाई पक्राउ गरेर क्वारेन्टाइनमा राख्ने कुरा पनि भएन”, प्रजिअ शर्माले भन्नुभयो, “सबै पक्ष लाग्दासमेत सबैलाई क्वारेन्टाइनमा ल्याउन सकिएको छैन ।” जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मी, स्थानीयस्तरका स्वयम्सेवक विदेशबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा पु¥याउन प्रयत्नशील रहेको उहाँको भनाइ छ । “विशेषतः स्थानीय तहले सक्रियता देखाउनुपर्ने आवश्यकता छ”, प्रजिअ शर्माले भन्नुभयो ।

फिदिम नगरपालिकामा चैत लागेयता ३९ जना विदेशबाट आएको फिदिम नगरपालिकाकै तथ्याङ्क छ । फिदिममा होम क्वारेन्टाइनमा चार तथा क्वारेन्टाइनमा ११ जना छन् । बाँकी सबै क्वारेन्टाइन बाहिर छन् । “कतिपय उक्त समयभन्दा अगाडि आएका पनि छन् । कतिपय सचेत मानिसहरु पनि छन्”, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले भन्नुभयो, “हामी सचेततापूर्वक घरैमा बस्छौँ भन्नेलाई जबर्जजस्ती गर्न पनि भएन ।”

अधिकारकर्मी मंगल बेघा विदेशबाट फर्किएकाहरुमा सचेतना विस्तार अत्यावाश्यक रहेको औँल्याउनुहुन्छ । “नयाँ किसिमको रोग भएकाले यसको लक्षण, समस्या र बच्ने उपायबारे ग्रामीण क्षेत्रमा सचेतनाको कमी छ”, बेघाले भन्नुभयो, “स्थानीय तहहरुले सचेतना पु¥याउनु पर्छ । विदेशबाट फर्किएकाहरुलाई राम्रोसँग बुझाउनुपर्छ ।”

उनीहरुलाई राख्ने क्वारेन्टाइन र आइसोलेसनको मापदण्ड अनुसार निर्माण गर्नुपर्ने र मापदण्ड पुगेका क्वारेन्टाइनमा शङ्कास्पद सबै जना बस्ने प्रवन्ध गर्नुपर्नेमा बेघाको जोड छ । “विदेशबाट फर्किएकाहरु क्वारेन्टाइन नआउँदा उनीहरुका कारण गाउँ आतङ्कित हुने अवस्था छ”, बेघाले भन्नुभयो ।

प्रतिक्रिया