सङ्क्रमित युवतीको परिवारका सदस्यमा कोरोना नभएको पुष्टि

admin

बागलुङ, २० चैत : कोरोना सङ्क्रमण पुष्टि भएकी बागलुङ नगरपालिका-४ कुँडुलेकी एक किशोरीका परिवारका पाँच सदस्यमा कोरोना नभएको पुष्टि भएको छ ।

धवलागिरि अञ्चल अस्पताल बागलुङले सङ्क्रमित युवती, उनका आफन्त र सङ्क्रमितसँगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको थियो ।

परीक्षणका लागि पठाइएमध्ये बुधबार किशोरीका बाबा, हजुरबुबा, दाजु र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने बिहीबार बिहानै परिवारको नातेदार फुपूको रिपोर्ट नेगेटिभ आएको धवलागिरि अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

कोरोना पुष्टि भएकी युवतीको स्वास्थ्य सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना सङ्क्रमण हुन नसक्ने आशावादी भएको डा. पोखरेलले जानकारी दिए ।

बागलुङकी युवती गत चैत ५ गते बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ बाट नेपाल आएकी थिइन् । ती किशोरीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत्र १२ गते स्वाब परीक्षणका लागि नमूना सङ्कलन गर्दा कोरोना पुष्टि भएको थियो ।

 

प्रतिक्रिया