चट्याङबाट दुईको ज्यान गयो, ११ घाइते

admin

काठमाडौं, २० चैत : धादिङ र रुकुमपश्चिममा चट्याङ पर्दा दुईको ज्यान गएको छ भने  एघार जना घाइते भएका छन् ।

उत्तरी धादिङको खनियाबास गाउँपालिका-२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको ज्यान गएको छ भने तीन घाइते भएका छन् । ज्यान जानेमा खनियाबास गाउँपालिका-२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् ।

घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । चट्याङमा परेर खनियाबास गाउँपालिका-२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन् ।

थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिए ।

दिउँसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका-२ क्यूङ निवासी आसमाया तामाङ घाइते भएकी छिन् । सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

रुकुमपश्चिम पनि

रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको ज्यान गएको हो ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको बताइएको छ ।

चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेमा वडा नं ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का रहेका छन् ।

सोही वडाका ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्कासमेत चट्याङ लागेर घाइते भएका छन् । घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया